मुख्य समाचार

तुलसीपुरको नयाँ बसपार्कमा आधुनिक बसपार्कको शिलान्यास

By थाहा अनलाइन

June 12, 2017

जेठ २९ दाङ

तुलसीपुरको नयाँ बसपार्कमा निर्माण हुने भनिएको आधुनिक बसपार्कको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । ३४ करोडको लागतमा निर्माण हुने बसपार्कको तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले शिलान्यास गर्नुभएको हो । पहिलो चरणको कार्यक्रममा साढे दश करोडको लगानीमा १६ कोठे टर्मिनल भवन , बगैचा , रेष्टुरेन्ट , ५० ओटा शपिङ स्टल , अपाङ्गमैत्री शौचालय , गाडीका चालकलाई आराम गर्ने कक्ष , पक्की सडक , सडक बत्ती सहितका संरचनाहरु निर्माण गरिने तुलसीपुर उपमहानगरपालिकाका इन्जीनियर पवन कुमार योगीले जानकारी दिनुभएको छ । शिलान्यास कार्यक्रममा बक्ताहरुले गुणस्तरीय भौतिक संरचनाको निर्माणमा जोड दिएको बताउदै लामो समयको अवरोधका बाबजुद निर्माण हुन लागेको संरचनाको सवैले निगरानी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा तुलसीपुर नगरका संस्थापक प्रमुख शंकर आचार्य , पूर्व नगर प्रमुख ढुण्डिराज लामिछाने , नागरिक समाजका संयोजक टिकाराम रेग्मी , पत्रकार शरद रेग्मी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलको सहजीकरण रहेको कार्यक्रममा उपमहानगरपालिकाका वरिष्ठ वित्तिय अधिकृत ललित बहादुर घर्तीले योजनाको बारेमा प्रकाश पार्नुभएको थियो सो कार्यक्रममा अधिकृत केसीले निर्माणमा गुणस्तरीयता र समयमा सम्झौता नहुने भन्दै समयमै निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको थियो ।।