साहारा विहीनहरूको सहारा बन्दै आशाका किरणहरू, एकै दिन २२ घरपरिवारलाई खाद्यान्न सहयोग



देउखुरी ३१ जेठ, दाङ देउखुरीका युवाहरूले साहारा विहीनहरूलाई साहारा दिन खुसी अभियान चलाएका छन् । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरू नामक संस्थाले एम डब्ल्यु आर आर, युथफर नेशन र बेमिना नेपालको सहयोगमा गास, बास र आवासको समस्याबाट पीडित परिवारको सहारा बन्दै खुसी अभियान चलाएका हुन् ।

संस्थाले एक छाक खान नसक्ने, बस्नको लागि आवासको समस्या भएका तथा लगाउनका लागि कपडा नभएका घर परिवारलाई थोरै भए पनि खाद्यान्न तथा लत्ता कपडा दिएर खुसी बनाउने काम गरेको छ । यसै क्रममा संस्थाले गढवा गाउँपालिका वडा नम्बर ६ को मानिकापुरका ११, बालापुरका ४, मदपुर २ र हाँसिपुरा ५ घर परिवार गरी कुल २२ घरपरिवारलाई भेटेर उनीहरूको पारिवारिक समस्या बुझ्दै राहत स्वरूप खाद्यान्न सहयोग गरेको छ ।

विशेष गरी लकडाउनका बेला सवैका घरमा मिठो मसिनो पाक्दा गरिवका घरमा एक मुठी चामल समेत नभएर महिनौँ दिन देखि खाना नपाएका गरिब परिवारको घर आँगनमै संस्थाले राहत स्वरूप खाद्यान्न ल्याइदिए पछि उनीहरू खुसी मात्र भएनन् । आफ्नै घरमा देवता आएको भन्दै आर्सीवाद समेत दिएका छन् । संस्थाले ती गाउँका २२ घरपरिवारलाई कुल ५५ हजार बराबरको खाद्यान्न स्वरूप राहत वितरण गरेको छ ।

जसमा प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ पोका नुन, ३ बोतल तेल राहत स्वरूप सहयोग गरेको आशाका किरणहरू नामक संस्थाका सदस्य दिनेश आचार्य बताए । संस्थाले स्थापना काल देखि स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र हुँदै पछिल्लो पटक कोरोना पीडित तथा बेसहारा परिवारलाई खुसी बनाउन विभिन्न व्यक्ति तथा सङ्घ संस्था सँग समन्वय गर्दै खुसी अभियान चलाउँदै आएको छ ।

संस्थाका सदस्य दिनेश आचार्यको नेतृत्वमा संस्थाका सदस्य किरण जिसी, बेमिना नेपालका सदस्यहरू अनिता आचार्य, भावना चौधरी, उषा आचार्य र साहित्यकार आशिषकल्प वृक्ष लगायतको टोलीले घरघरमै गई राहत वितरण गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्