द्वन्द्वग्रस्त इजरायली प्रम पदमुक्त, प्यालेष्टाइनले दियो यस्तो प्रतिकृया



काठमाडौं । इजरायलको संसदले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँलाई पदबाट हटाएको छ । संसदले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् ।

दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले नयाँ सरकारको नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् । अत्यन्तै साँघुरो ६०–५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका छन् ।

सत्ता समीकरण सम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् ।

नेतान्याहुँ इजरायलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन् । इजरायलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन् ।

संसद्मा भएको छलफलमा बोल्दै नेतान्याहुँले भने, ‘हामी फेरि फर्किने छौं ।’ मतदान सकिएपछि बेनेटतर्फ हिँडेर गएका उनले प्रधानमन्त्री निर्वाचित उनीसँग हात मिलाएका थिए । तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरायलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाएका छन् ।

यो इजरेलीहरुको आन्तरिक मामिला हो, हाम्रो धारणा स्पष्ट छ । हामी सन् १९६७ को सिमानामा आधारित र जेरुसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं,‘प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एक जना प्रवक्ताले भने ।’

गाजामा नियन्त्रण जमाएको हमास समूहका प्रवक्ताले इजरायललाई एउटा उपनिवेशवादी निकाय भन्दै बलको प्रयोगगरी प्रतिरोध गरेर आफ्नो अधिकारहरू फिर्ता लिनुपर्ने बताए ।

उता अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताएका छन् । बीबीसीका मध्यपूर्व संवाददाता टोम बेट्मन भन्छन्,‘पुराना बानीहरू त्याग्न गाह्रो हुन्छ ।’

उनका अनुसार विश्वासको मतको परिणाम घोषणा भएपछि बेन्जामिन नेतान्याहु संसद भवनभित्र प्रधानमन्त्री बस्ने चेम्बरमा गएर बसेका थिए । खासमा उनी विपक्षी बस्ने बेन्चमा बस्नुपर्ने थियो ।

बेट्मनका विचारमा इजरेलका सर्वाधिक लामो समयका नेताको बहिर्गमन एउटा राजनीतिक इतिहासको क्षण थियो तर उनी तत्कालका लागि कतै पनि जाने देखिँदैनन् । नेतान्याहुँले विपक्षीको रूपमा नयाँ गठबन्धन निर्माण र अहिलेको गठबन्धन तोड्ने प्रयास जारी राख्ने छन् ।

यो अहिलेसम्मको सबैभन्दा बृहत गठबन्धन भएकाले अझ अस्थिर हुनसक्ने सम्भावना छ । मतदानको समयमा नेतान्याहुँका विपक्षीहरू संसद भवन बाहिर भेला भएका थिए ।

नाफ्ताली बेनेटले सबै दललाई एक ठाउँमा उभ्याएर अघि बढ्नुपर्नेछ । नेतान्याहुँले पाँचवटा कार्यकाल शासन गरेका छन् । सबैभन्दा सुरुमा सन् १९९६ देखि १९९९ सम्म सत्ता सम्हालेका उनी सन् २००९ देखि २०२१ सम्म निरन्तर शक्तिमा छन् ।

सन २०१९ को अप्रिलमा उनले चुनाव घोषणा गरेका थिए । तर त्यसमा उनी नयाँ गठबन्धन निर्माण गर्ने गरी पर्याप्त मत पाउन विफल भएका थिए । त्यसपछि गरिएका दुईवटा चुनाव पनि निष्कर्षमा पुग्न सकेनन् ।

तेस्रो चुनावपछि उनले तत्कालीन विपक्षी नेता बेनी गान्त्ससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाए । तर उनीसँग गरेको सम्झौता भङ्ग भएपछि गएको मार्चमा इजरेल पुनः चुनावमा गएको थियो ।

उक्त निर्वाचनमा लिकुड ठूलो दलका रूपमा निर्वाचित भए पनि नेतान्याहुले फेरि सरकार गठन गर्न सकेनन् । त्यही भएर दोस्रो स्थानमा आएको येश अटिड पार्टीका नेता लापिडलाई सरकार बनाउन बोलाइयो ।

नेतान्याहुँ सत्तामा बसिरहेको विरोध गर्ने समूहहरु सबै एक ठाउँमा उभिए । त्यसमा वामपन्थीदेखि मध्यपन्थी वा लिकुडसँग मिल्दोजुल्दो विचार राख्ने यामिना सहितका दक्षिणपन्थी दल पनि थिए । सात सिटमात्र जितेर निर्वाचनमा संयुक्त रूपमा पाँचौ स्थानमा आएको यामिनाको समर्थन नयाँ गठबन्धन निर्माणका लागि अनिवार्य थियो ।

हप्तौँको सघन वार्तापछि लापिडले नेतान्याहुँलाई पदबाट मुक्त गर्ने साझा उद्देश्य सहितको गठबन्धन निर्माण गरे । आठवटा समूहले गरेको उक्त सम्झौता सरकार गठनका लागि समर्थन जुटाउन दिइएको जुन २ को समय सीमा सकिनु आधा घण्टा अघिमात्रै हस्ताक्षर गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्