नेपालका किरातले हङकङमा स्थापना गरे आफ्नो पूर्खाको प्रतिमा



हङकङ, नरजित राई । नेपालका किरात समुदायले हङकङमा आफ्ना पूर्खाको प्रतिमा स्थापना गरेका छन् । सुप्तुलुङ मर्मत तथा निर्माण विभागले आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरेको छ ।

१३ जुन २०२१ का दिन प्रतिमाको अनावरण गरिएको छ । प्रतिमा अनावरण कार्यक्रममा किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई प्रमुख अतिथिको रुपमा थिएभने विभाग संयोजक धिराजकुमार राईले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा किराया नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमको संचालन सुप्तुलुङ मर्मत तथा निर्माण विभागको कार्यकारी सचिव अधिराज (तेज) राईले गरेका थिए ।

किरात परम्परा अनुसार कुबिमी द्वय दलबहादुर राई र मैत्रकुमार राईले मुन्दुम फलाकेर सामूहिक चुलामा पुजा गर्नु भएको थियो । कुबिमी, साकेला सिलिकारहरुले प्रतिमास्थल वरिपरी शिली नाचेपछि प्रमुख अतिथि, विशिष्ट अतिथि र विभाग संयोजकको हातबाट आदिम पूर्खा रैछाकुलेको प्रतिमा अनावरण गरिएको थियो ।

किरात सभ्यताको आदिम पूर्खा रैछाकुले को हुन ? भन्ने बारेमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशिमदन राईले मिथक प्रस्तुत गर्नु भएको थियो ।

सो कार्यक्रममा किराया नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, किराया हङकङका संरक्षक हेजेन राई, किराया हङकङका प्रमुख सल्लाहकार रजिन राईले किरात राई यायोक्खा हङकङ र किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण बारेमा मन्तव्य राखेका थिए ।

किराया हङकङको पहिलो चरणको योजना अनुसार रैछाकुलेको प्रतिमा निर्माण गरिएको हो । रैछाकुलेको प्रतिमा पूर्ण कदको धातुले बनाइएको छ । यो प्रतिमाको उचाई करिब ५ फिट रहेको छ ।

नेपालका मुर्तिकार रोजन राईले बनाएको मूर्तिको कुल लागत खर्च (१,८७,८०० हङकङ डलर) अर्थात् नेरु ५,९०,०००० रहेको छ । नेपालबाट रैछाकुलेको प्रतिमा निर्माण गरि हङकङमा ल्याइएको थियो । यो प्रतिमाको तौल करिब २०० केजी रहेको छ ।

किरात सभ्यताको आदिम पूर्खाको नाम रैछाकुले चामलिङ भाषामा भनिएको हो । यसलाई साम्पाङ भाषामा खोक्चिलिप्पा, बान्तवा भाषामा हेत्छाकुप्पा र अन्य किरात राई भाषाहरुमा खोक्चिलिप, खक्चुलुक्पा, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा, हेछाकुप्पा, हेत्छाकुवा, कक्तिसाला आदि नामले चिनिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्