रक्तदान गर्न कसले हुने, कसले नहुने?



विश्व रगत दाता दिवस हरेक वर्ष जून १४ मा पर्दछ। रक्तदान एउटा यस्तो कार्य हो जसले विश्वव्यापी रूपमा लाखौँलाई बचाउँछ। किनभने रगत मानव जीवनको अत्यावश्यक तत्त्व हो। सन् २०२१ को लागि विश्व रक्तदाता दिवसको नारा “रगत दिनुहोस् र विश्वलाई जीवन्त राख्नुहोस्” रहेको छ। यस सन्देशले रगत दाताहरूले अरूको जीवन बचाउनुका साथै स्वास्थ्यमा सुधार ल्याउनका लागि पुर्‍याउने भूमिकालाई ध्यानाकर्षण गर्दछ। यसले विश्वभरिका व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न र स्वास्थ्यमा योगदान पुर्‍याउन आह्वानलाई गर्दछ।

विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरे अनुसार कुनै पनि राष्ट्रको रगतको आवश्यकता पूरा गर्नका लागि न्यूनतम कुल जनसङ्ख्याको १ प्रतिशतले रक्तदान गर्नुपर्छ। यसको उद्देश्य भनेको रक्त प्रक्षेपणका लागि सुरक्षित रगत र रगत उत्पादनहरूको आवश्यकताको विश्वव्यापी जागरूकता र महत्त्वपूर्ण योगदान स्वैच्छिक रक्तदान गर्ने दाताहरू बढाउनु हो। प्रत्येक केही सेकेन्डमा कसैलाई रगत चाहिन्छ। रगतको आवश्यकता सधैँ रहिरहन्छ। रगत दान गर्न सक्ने प्रत्येक व्यक्तिले नियमित स्वैच्छिक रक्तदान गर्नुपर्छ जसले गर्दा देशमा पर्याप्त रक्त आपूर्ति हुन्छ। सुरक्षा र स्वास्थ्यलाई सुनिश्चित गर्नुका लागि रक्तदान महत्त्वपूर्ण छ, यसले नियमित अनुदानको लागि प्रतिबद्धता निर्माण गर्न मद्दत गर्दछ। शरीरको कुल रगतको ३० प्रतिशतभन्दा बढी रक्तस्राव घातक हुनसक्छ। जसको लागि तपाईँले गरेको रक्तदानले उक्त व्यक्तिको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

निम्न अवस्थामा रक्तदान गर्न मिल्छ

-: १८ वर्ष उमेर तथा ५० केजी तौ भएका स्वास्थ्य व्यक्ति जोसुकैले रक्तदान गर्न सक्छन्। अभिभावकको स्वीकृतिमा १६ वर्ष माथिकोले पनि रक्तदान गर्न मिल्छ। ६० वर्षभन्दा बढी उमेरकाहरुले रक्तदान नगरेको वेश ।

-: ज्वरो वा सास फेर्न गाह्रो नभएमा एलर्जी, सुक्खा खोकी भए पनि रक्तदान गर्न मिल्छ ।

-: सामान्य खालको दम भएकाहरूले औषधि खाइरहेका भए पनि रक्तदान गर्न सक्छन् ।

-: नाडीको चाल ५०-१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर (सिस्टोलिक) १००-१८० तथा तल्लो प्रेसर (डायास्टोलिक) ५०-१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन् ।

-: चिनी रोगले आँखा, मुटु, मिर्गौला आदि अङ्गमा असार नपारेको अवस्थामा मुखबाट औषधि खाइरहेकाहरूको चिनी रोग नियन्त्रणमा छ भने रक्तदान गर्न सकिन्छ ।

-: विगत ६ महिनादेखि  छाती दुख्ने तथा मुटुरोग सम्बन्धी लक्षण नभएका, रोग नियन्त्रणमा भएका र दैनिक क्रियाकलापमा समस्या नभएका  मुटुरोगीहरुले रक्तदान गर्न मिल्छ ।

निम्न अवस्थामा रक्तदान गर्नु हुँदैन

औषधि सेवन

-: ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्था ।

-: आइसोट्रेटिनोइन, एकुटेन, फिनास्टेराइडजस्ता डन्डिफोर  तथा पिसाबको ग्रन्थि बढेको अवस्थामा प्रयोग गरिने औषधिको  अन्तिम मात्रा खाएपछि एक महिना नपुगेको अवस्था ।

-: पिसाबको ग्रन्थि बढेको अवस्थामा प्रयोग गरिने डुटास्टेराइड औषधिको  अन्तिम मात्रा खाएपछि ६ महिना नपुगेको अवस्था ।

-: एस्पिरिन खाइरहेकाहरूले पर्खनुपर्छ भन्ने छैन, तर तीन दिन पर्खँदा वेश ।

– : हेपारिन, वार्फारिनजस्ता रगत पातलो पार्ने औषधि लिइरहेका बिरामीहरूले चिकित्सकद्वारा औषधि छुटाइएको अवस्थामा सात दिनपछि मात्र रक्तदान गर्नु पर्छ ।

-:  टिक्लोडिपिन, क्लोपिडोग्रेल जस्ता रगत जमाउन कम गर्ने औषधि लिइरहेकाहरूले औषधि छोडेपछि १४ दिन पर्खनुपर्छ ।

-:  ग्रोथ हर्मोन लिएकाहरूले रक्तदान गर्नु हुँदैन ।

-:  सोरियासिस नामक छालाको रोगका लागि इट्रेटिनेट औषधि लिइरहेकाहरूले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन। एसिट्रेटिन औषधि लिइरहेकाहरूले पनि औषधि छोडेको तीन वर्षसम्म रक्तदान गर्नु हुँदैन ।

-:  छालाको क्यान्सरमा प्रयोग गरिने भिस्मोडेगिल  औषधि लिइरहेकाहरूले औषधि छोडेको ७ महिना नपुगेको अवस्था ।

– : प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाहरूले औषधि छोडेको २ वर्षसम्म रक्तदान गर्न मिल्दैन ।

खोप

-: दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

-: हेपाटाइटिस ‘बी’ का रोगीको  सम्पर्कमा नआएका तर हेपाटाइटिस ‘बी’ खोप लगाएकाहरूले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

– : हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्कमा आएका, हेपाटाइटिस ‘बी’ इम्युन ग्लोबुलिन  लगाएकाहरूले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन ।

स्वास्थ्य अवस्था

-: प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलव ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाहरूले रक्तदान गर्नु हुँदैन ।

-: गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

-: हृदयाघात, मस्तिष्क घात, कलेजो तथा मिर्गौला फेल भएकाहरूले रक्तदान गर्नु हुँदैन ।

– : तराई क्षेत्रमा व्यावहारिक नहुन सक्छ, तथापि मलेरियाको उपचार गरेको तीन वर्षसम्म तथा मलेरिया हुने क्षेत्रमा भ्रमण गरेको एक वर्षसम्म रक्तदान गर्नु हुँदैन।

-: रगत बग्न सजिलै नरोकिने रोगी वा रगत पातलो पार्ने औषधी खाइरहेकाहरूले रक्तदान गर्नु हुँदैन ।

-: हेमोक्रोमेटोसिस नामक रोग भएकाहरूले रक्तदान गर्नु हुँदैन ।

-: रक्तनलीबाट लागूपदार्थ सेवन गर्नेहरूले रक्तदान गर्नु हुँदैन ।

-: रगत तथा ग्रन्थिको क्यान्सर भएकाहरूले रक्तदान गर्नु हुँदैन । पूर्णरुपमा उपचार गरिएका क्यान्सर रोगीहरूले पनि एक वर्षपछि मात्र रक्तदान गर्न सक्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्