विश्वकै ठुलो परिवारका घरमुली जियोना चानाको निधन : ३८ पत्नी, ८९ छोराछोरी



भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठुलो परिवारका घर मुली जियोना चानाको निधन भएको छ ।

७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् । मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ ।

मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् ।

जियोना पेसाले सिकर्मी थिए । उनका पत्नी तथा बुहारीहरूले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरूले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् । सबैभन्दा जेठी पत्नीले चाहिँ घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरूको कामको निगरानी गर्ने गर्दछिन् ।

यो परिवारमा हरेक दिन ४५ किलो चामल, ३०/४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारी खपत हुन्छ । साथै झन्डै २० किलो फलफूल पनि दिनहुँ सो परिवारले हजम गर्दछ ।

उक्त क्षेत्रको राजनीतिमा पनि सो परिवारको ठुलो महत्त्व रहँदै आएको छ । एउटै परिवारमा यति धेरै भोट भएका कारणले धेरै नेता तथा राजनीतिक दलहरू चुनावका  बेला यो परिवारलाई निकै महत्त्व दिन्छन् । स्थानीय चुनावमा त यो परिवारको भोट नै कहिलेकाहीँ निर्णायक हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्