गर्मीमा स्वस्थ रहन जान्नैपर्ने कुराहरु : गर्मी मौसममा के खाने के नखाने ?



काठमाडौँ । गर्मी महिना सुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरीरका विभिन्न अङ्गको सफाइमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरीरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मीमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ । यो स्थितिबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

के खाने ?

पानी

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिञ्चित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरीरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोतलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।

गोल्भेडा

त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ। गोलभेँडामा लाइसोपेन नामक तत्त्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढि विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला।

गाजर

त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्‍याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरू रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला।

खरबुजा

खरबुजा पनि गर्मीको मौसममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफूलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्त्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

काँक्रो

काँक्रोमा सिलिकाजस्ता तत्त्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।

दही

यो समयमा सङ्क्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरू निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पुराउँछ ।

पुदिना

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।

के नखाने ?

मसालदार खानेकुरा
चिया, कफी
बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पिरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा
जाँड रक्सी र सुर्तीजन्य पदार्थ
तेलबाट बनेको खाने कुरा

गर्मी मौसममा हामीले तेल बाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेल बाट बनेको परिकार खाएमा मेटाबॉलिज्म (Metabolism) बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहन्छ ।

माछा कम खाने

गर्मी मौसममा माछा कम खाने किन कि माछाले गर्मीमा शरीर लाई हिट बनाउँछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानु पर्छ ।

जङ्क फुड 

यस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्त्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुरा बाट परै रहनु पर्छ ।

अन्डा कम खाने

गर्मी मौसममा अन्डा खानाले इंफेक्शन गर्ने खातारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।

रातो मासु

रातो मासुमा बढी मात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ ।

गर्मी मौसममा बेलको जुस खादा हुने फाइदाहरू

यस गर्मी मौसममा आफूलाई ताजा र स्वास्थ्य राख्नका लागि धेरै प्रकारका जुस र चिसो पेय पदार्थको सेवन गरिन्छ । यस्तोमा तपाई बेलको जुस पिउन सक्नुहुन्छ, तपाईँको शरीरलाई अचुक फाइदा मिल्छ । बेलले स्वास्थ्यका साथै सौन्दर्यलाई निखारर्ने पनि काम गर्छ । आयुर्वेदमा बेललाई गुणको खानी बताइन्छ । बेलबाट पाइने प्रोटिन, बिटा–क्यारोटिन, थायमिन, राइबोफ्लेभिन र भिटामिन सी निक्कै गुणकारी हुन्छ । जान्नुहोस् यसको फाइदाहरू

– मुटुलाई स्वस्थ राख्दछ

बेलको रस तयार गरेपछि त्यसमा थोरै घ्यु मिसाएर दैनिक एक निश्चित मात्रामा पिउने गर्नाले मुटुलाई स्वस्थ राख्दछ । यसले मधुमेहलाई समेत नियन्त्रित गर्दछ ।

 – कब्जियतको समस्या समाधान गर्दछ

नियमित रूपमा बेलको जुस पिउने गर्नाले ग्यास, अपच र कब्जियतको समस्याबाट राहत मिल्छ ।

 – पखाला नियन्त्रणमा लाभदायक हुन्छ

बेलको रसले पखालालाई रोक्ने काम गर्दछ । बेलको रसलाई सख्खर वा चिनीसँग मिलाएर पिउने गर्नाले पखाला रोकिन्छ ।

 – शरीरलाई भित्रै देखि चिसो राख्दछ

बेलको जुस पिउने गर्नाले शरीरमा गर्मीको प्रभाव हुँदैन । साथै यसले एसिडिटीलाई पनि भगाउँदछ ।

 – क्यान्सरबाट बचाउँछ

नियमित रूपमा बेलको जुस पिउने गर्नाले स्तन क्यान्सर जस्ता जोखिमबाट बचाउँछ ।

– रगतलाई सफा गर्दछ

बेलको जुसमा केही मनतातो पानी मिसाउने र त्यसमा थोरै मह राख्ने । यसरी तयार भएको जुस नियमित पिउनाले रगतलाई सफा गर्दछ ।

गर्मीमा उपयोगी ५ तरकारीहरु

गर्मीमा खास किसिमका तरकारीको सेवन गर्दा पनि शरीरलाई स्वस्थ राख्न सहयोग पुराउँछ । यहाँ हामीले त्यस्तै केही तरकारीहरूको सूचि तयार पारेका छौँ जसको सेवनले गर्मीमा फाइदा पुराउँछ ।

– लौका

लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।

क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

– प्याज

गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपुर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फो लेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ ।

यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काँचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रूपमा मात्र नभई काचै सलादका रूपमा खान सकिन्छ ।

– करेला

स्वादमा तीतो भए पनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्दत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ ।

करेलाले पाचनशक्ति मजबुत पार्ने भएकाले भोक पनि जगाउँछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

– हरियो सिमी

हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्त्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्त्व पनि सिमीमा पाइन्छ ।

पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्दत गर्छ ।

-फर्सी

फर्सी खनिज तत्वले भरपुर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्दत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्