मुख्य समाचार

जसपाले सोध्यो आफ्ना ९ मन्त्रीलाई स्पष्टीकरण

By Thah Online

June 14, 2021

काठमाडौँ । जनता समाजवादी पार्टीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई स्पष्टीकरण सोधेको छ। आइतबार सरकारमा गएका सबै मन्त्रीहरूलाई स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्णयबिना सरकारमा सामेल भएपछि कारबाही प्रक्रिया अघि बढाउनको लागि ७ दिनको स्पष्टीकरण सोधेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

यादवले भने, ‘पार्टीले सरकारमा जाने कुनै निर्णय गरेकै छैन । तर, उहाँहरू सरकारमा जानुभएको छ। उहाँहरूले जवाफ नफर्काए पार्टीको विधानलाई टेकेर कारबाही प्रक्रिया अघि बढ्छ।’ जसपाको अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएका छन्। ओली सरकारमा जसपाको ९ मन्त्री र २ राज्यमन्त्री छन् ।

अध्यक्ष ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा गएपछि अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री ओली सरकार बहिर्गमनको प्रयासरत छन् । ठाकुर पक्षले सरकारमा जाने निर्णय गरेपछि जसपाको दुई पक्षले एक अर्का समूहलाई कारबाही गरेको थियो ।

तर, निर्वाचन आयोगले दुवै पक्षका कारबाहीलाई मान्यता नदिएर साबिककै पदाधिकारीलाई यथावत् राखेपछि अध्यक्ष यादवले फेरि स्पष्टीकरण सोधेका हुन् ।