संगम मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन, पीडित सरकारी वकिलको कार्यालयमा



भोजपुरको षडानन्द नगरपालिका–१४, बोयाका १८ वर्षीय संगम ठटालको मृत्यु प्रकरणमा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण आफ्नो छोराको ज्यान गएको भन्दै वडाध्यक्ष झम्कबहादुर रोकाविरुद्ध कुटपिट, जातीय भेदभावजन्य गालीबेइजती गरी डरधम्की देखाई आत्महत्या गर्न बाध्य पारेको भन्दै संगमकी आमा सीता ठटाल जाहेरी लिएर शुक्रवार जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । तर, जाहेरी लिएर गएका पीडित परिवार र अधिकारकर्मीसँग प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ ।

जातीय भेदभाव, कुटपिट र गालीबेइजती तथा ज्यानसम्बन्धी मुद्दा दर्ता गर्न प्रहरीमा गए पनि डिएसपीले उल्टै बालविवाह, बाल हिंसा र त्यसको मतियार बनेको भन्दै अर्को मुद्दा अघि बढाउने भन्दै धम्क्याएको दलित अधिकारकर्मी बबिन्द्र रसाइलीले बताए । ‘घटनाको पछाडिको मुख्य कारण संगम दलित हुनु हो । हामीले घटनाको मुख्य कारण यो हो, यस आधारमा मुद्दालाई अगाडि बढाइदिनुस् भनेर आग्रह गर्‍यौँ, तर उहाँले सुन्नै मान्नुभएन,’ उनले भने, ‘प्रहरी कार्यालयमा डेढ घन्टा वादविवाद चल्यो । डिएसपीले उल्टै बालविवाह, बाल हिंसा र त्यसको मतियार बनेको भन्दै अर्को मुद्दा चलाउन सक्छु भनेर धम्क्याए ।’

रसाइलीले मुद्दा गर्न जिल्लाको सिङ्गो अधिकारकर्मीको समूह प्रहरीकहाँ पुगे पनि डिएसपीले असहयोगी र असहिष्णु व्यवहार देखाएको बताए । कथित तल्लो जात भएकै कारण छोरो गुमाएको पीडामा परेको परिवारप्रति समवेदनासमेत नदेखाएर प्रहरी नै पीडक मैत्री बनेर प्रस्तुत भएको अधिकारकर्मीको आरोप छ ।

गाउँकै श्रेष्ठ थरकी १५ वर्षीय बालिकासँग एक वर्षको प्रेम सम्बन्धपछि गत १० जेठमा अन्तर्जातीय विवाह गरेका संगमको प्रहरीकै रोहवरमा वडाध्यक्ष झम्कबहादुर रोकाले बालविवाहको मुद्दा लगाउने भन्दै जातीय भेदभावजन्य गालीगलौज गरेर ११ जेठमा विवाह तोडिदिएका थिए । वडाध्यक्षले जातीय विभेदजन्य गालीगलौज गरेको र आफ्नो छोरालाई विना कारण कुटपिटसमेत गरेको आमा सीता ठटालको भनाइ छ । प्रहरी चौकीमा प्रेमिकासँग गलबन्दी र सल साटासाट गरेर रुँदै घर आएका संगम १२ जेठबाट बेपत्ता भएका थिए । उनको शव १५ जेठको साँझ ४ बजे नजिकै जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले भने यसअघि आत्महत्या शीर्षकमा घटना दर्ता भइसकेकाले अर्को मुद्दा दर्ता गर्न नपर्ने दाबी गरेको छ । ‘हामीले शवको मुचुल्का गरेका थियौँ । पोस्टमार्टम रिपोर्टले प्रस्टसँग झुन्डिएर मृत्यु भएको देखाएको छ, त्यसैले यो एउटा आत्महत्याको घटना हो,’ डिएसपी कृष्ण चन्दले भने, ‘हामीले त्यस्तो कारण भए त्यही घटनामाथि अनुसन्धान गर्छौँ । अर्को मुद्दा दर्ता गर्नुपर्दैन ।’ पीडित परिवारले भने अन्तर्जातीय विवाह तोड्ने सिलसिलामा प्रहरी पनि साक्षी भएकाले वडाध्यक्षको शक्तिको बलमा घटनालाई तोडमोड गरिएको आरोप लगाएको छ । झुन्डिएको अवस्थामा शव भेटिएकै वेला प्रहरीले संगमका बाबु गोरखबहादुरको नाममा जाहेरी पत्रमा हस्ताक्षर गराएको थियो ।

छानबिन गर्न सांसदहरूको माग
भोजपुरमा दलित युवाको रहस्यमय मृत्यु भएको घटना छानबिन गर्न प्रदेश सांसदहरूले माग गरेका छन् । प्रदेश १ सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद उमिता बराइली र सौभाग्यवती राईले संगम ठटाल मृत्युको घटना छानबिन गर्न माग गरेका हुन् । ‘एउटा निर्दोष दलित युवाको मृत्यु कसरी भयो ? हत्या हो कि आत्महत्या ? त्यसको छानबिन गरेर प्रदेश सरकारले मानवअधिकारप्रति सबै समुदायसँग प्रतिबद्ध छ भन्ने व्यवहार देखाउनुपर्छ र पीडित परिवारलाई क्षतिपूर्ति पनि दिलाउनुपर्छ,’ सांसद राईले भनिन् ।

सांसद उमिता बराइलीले दलितहरूमाथि निरन्तर अमानवीय घटना भइरहे पनि त्यसको छानबिन हुने नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले १० माघ ०७७ मा प्रेम विवाह गरेकै कारण जातीय अपमान सहन नसकेर घरभित्र झुन्डिएको अवस्थामा फेला परेका सुनसरी रामधुनी नगरपालिकाका दलित युवाको घटना पनि छानबिन गर्न माग गरिन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर घटनाको गहन छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार प्रदेश सभामा नीति कार्यक्रमको छलफलमा सांसदहरूले उठाएको प्रश्न र दर्ता भएको संशोधन प्रस्तावबारे जवाफ दिने क्रममा मुख्यमन्त्री राईले भोजपुरमा जातकै कारणले कसैको हत्या भएको हो भने त्यो अमानवीय र अति जघन्य हुने बताए । उनले भने, ‘घटना नियोजित रहेछ भने जो–कोही हुन् दोषी कानुनी कठघरामा आउँछन् ।
प्रकाश धौलाकोटीले लेखेको यो समाचार नँया पत्रिकाबाट जस्ताको तेस्तै साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्