टप फिचर

राप्ती नदीमा एक्जाभेटरले उत्खनन गर्न रोक

By Thaha - Online

June 14, 2021

३१ जेठ, दाङ । राप्ती नदीमा एक्जाभेटर लगायत ठुला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न प्रशासनले रोक लगाएको छ । सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरूले ठुला मेसिन प्रयोग गरेर जथाभाबी उत्खनन गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो।

‘राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन नगर्न स्थानीय तहहरू र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएर रोक्न लगाइएको छ,’ दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले भने। राप्ती नदीमा गढवा गाउँपालिका, राप्ती गाउँपालिका,राजपुर गाउँपालिका, लमही नगरपालिका लगायतका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउने गर्छन् ।

अनुगमन नहुँदा ठेकेदारले ठुला मेसिन लगाएर जथाभाबी र तोके भन्दा धेरै परिमाण उत्खनन गर्दै आएको नागरिक समाज दाङका अध्यक्ष केबी मसाल बताउँछन् । प्रशासनले नदीहरूमा उत्खनन सुरु भए लगत्तै प्रभावकारी अनुगमन गरेर मापदण्डविपरीत भए रोक लगाउनुपर्नेमा अन्तिम समयमा मेसिन प्रयोगमा रोक लगाएको बताए।