चाक्सीबारीमा काँग्रेसको पौडेल पक्षीय नेताको बैठक बस्दै



काठमाडौं । काँग्रेस नेता रामचन्द्र पौडेल पक्षीय बैठक काठमाडौंमा सुरु भएको छ । साढे ९ बजे काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको हो ।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्न खोजेको बुझिएको छ । यसअघि पौडेलले जेष्ठ १९ गते संस्थापन इतर पक्षीय केन्द्रीय सदस्यसँग भर्चुअल मिटिङ गरेका थिए ।

पछिल्लो समय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल कागजी महाधिवेशन गर्ने गरी चोचोमोचो मिलाएको पौडेल पक्षमा आशंका छ । कोरोना र विकसित राष्ट्रिय राजनीतिका कारण महाधिवेशन गर्न नसकिए काँग्रेसमा वर्तमान पदाधिकारीलाई यथावत राखेर नयाँ विधानले परिकल्पना गरेको थप पदाधिकारीको संख्या थपेर पार्टीभित्र आम सहमति खोज्ने विकल्पमाथि बहस भइरहेको छ ।

सोमबार मात्र नेता शेखर कोइरालाले पौडेल समेत सहभागी भर्चुअल अन्तक्रिया कार्यक्रमा सोही विकल्पमाथि देउवासँग सम्झौता गरिएको भन्दै सार्वजनिक गर्ने भनेका थिए । केही पदाधिकारी र सदस्य थपेर महाधिवेशन भएको भनेर मिलाउन खोजिए आफूलाई स्वीकार्य नहुने चेतावनी दिएका थिए ।

नयाँ प्रस्तावित कार्यतालिका देखाउनका लागि मात्र ल्याएको उनको आशय थियो । नयाँ कार्यतालिका अनुमोदन गर्न विहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि पौडेल पक्षीय समान धारणा बनाउन बैठक राखेको देखिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्