स्वास्थ्यलाई प्राथमिकता दिन कांग्रेस जिल्ला सभापतिहरूको माग



कास्की । गण्डकी प्रदेशअन्तर्गत नेपाली काँग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिक रूपमा भेटेर त्यस्तो माग गर्नुभएको हो ।

अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्धको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गर्नुभएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्त्व दिन सभापतिहरूले अनुरोध गर्नुभएको उहाँले बताउनुभयो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना सङ्क्रमित, उनीहरूको परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गर्नुभयो । काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले संविधान, सङ्घीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गर्नुभयो । काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बागलुङका सभापति दीपेन्द्रबहादुर थापा, नवलपुरका सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानेले कोरोना महामारी अहिलेको प्रमुख समस्या बनेको बताउँदै यसको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा सभापतिहरूले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराउँदा मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । जिल्ला सभापति र सचिवहरूले जनअपेक्षाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्