काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो



काठमाडौँ । कोरोना सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।

तीनवटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअसहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो।

थपिएको निषेधाज्ञामा खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफूल पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । ‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरेका छौँ’ प्रजिअ भट्टराईले भने–‘पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइन्छ ।’​ 

वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुनः खोल्न दिइएको थियो ।

किराना र डिपार्टमेन्ट स्टोर यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइन्छ । पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ। विकास निर्माणजन्य सामग्री पसल  दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठुलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ। त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ। सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चल्न दिने भनिएको छ। नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ।

अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर सञ्चालन गर्न भनिएको छ। निर्माण सामग्रीको ढुवानी भने राति ९ देखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ। अनलाइनबाट पठनपाठन गर्न सकिनेछ।

बैङ्क तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन्। बिमा समिति, बिमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन्। सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्