राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि आइसियु बेड सञ्चालनमा



असार १, दाङ  ।   दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि आइसियु बेड सञ्चालनमा ल्याएको छ । आजदेखि १० बेडको आइसियु सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सङ्गीता भण्डारीले जानकारी दिनुभयो ।

उहाँले तत्काल १० बेड थपेर २० शय्याको पुर्‍याइने गरी काम भइरहेको पनि बताउनुभयो  । यस्तै, आउँदो हप्तादेखि एउटा र अर्को हप्ता थप एउटा गरी दुई वटा अक्सिजन प्लान्ट पनि जडानको काम भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानमा कालो ढुसी अर्थात् म्युकाेर्माइकोसिसको परीक्षण र उपचार गर्ने व्यवस्था पनि रहेको छ । यसका लागि विशेषज्ञ डाक्टर रहेको र अन्य दुई जना नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले रोगको परीक्षण र उपचार गर्ने डाक्टर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुनसक्ने भन्दै प्रतिष्ठानले बालबालिकाका लागि २० बेडको आइसियु, १० बेडको पीआइसीयू र ६ बेडको एनआइसीयू छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

पोस्ट कोभिड वार्ड सञ्चालनमा

कोरोना भाइरसको दोस्रो लहर कम देखिए पनि त्यसको जोखिम नघटेको भन्दै प्रतिष्ठानले सङ्क्रमणमुक्त तर सम्भावित जोखिम बिरामीका लागि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरेको छ । बिरामी सङ्क्रमणमुक्त भएपछि पनि त्यसपछिको जोखिम देखिने गरेपछि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरिएको हो ।

कोभिड निको भएर घर गएका बिरामीलाई १४ दिनसम्म जटिलता देखि नसक्ने हुनाले उनीहरूलाई फोन तथा भर्चुअल माध्यमबाट परामर्श दिने र आवश्यक परे फेरि अस्पतालमा बोलाएर उपचार गर्न व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी उपकुलपति प्रा.डा. सङ्गीता भण्डारी, का.मू. रजिष्ट्रार झन्कार लामिछाने र अस्पताल निर्देशक डा. प्रज्ञा सिंह बस्नेतले अस्पतालबाट हाल उपलब्ध गराइरहेको सेवा सम्बन्धमा र कोभिड बिरामीको व्यवस्थापन सम्बन्धमा जानकारी गराउनु भयो ।

उपकुलपति भण्डारीले  कोभिड १९ को उपचारको लागि प्रतिष्ठानले गरेका प्रगतिको बारेमा प्रकाश पार्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्तिको लागि स्थानीय निकाय र  सरोकारवालाहरूको सहयोगको अपेक्षा समेत गर्नु भयो ।
सो अवसरमा अस्पताल निर्देशक प्रज्ञा बस्नेतले प्रतिष्ठानको सेवा विस्तार, कोभिड बिरामीको उपचार र भविष्यमा गरिने योजनाको तथा कार्यक्रमको बारेमा विस्तृतमा प्रकाश पार्नु भयो । सो अवसरमा जिल्लाका विभिन्न सञ्चार माध्यमका प्रतिनिधि र प्रतिष्ठान सरोकार समितिका संयोजक सहित सदस्यहरूको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्