बहराइनले तत्काल नेपाली कामदार नलिने



काठमाडौँ | नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण विश्वस्तरमा चर्चा हुने गरी बढेपछि त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगार क्षेत्रले खेप्नु पर्ने देखिएको छ । खाडी मुलुक  बहराइनले नेपाललाई खतराको सूचीमा राख्दै तत्कालका लागि नेपाली कामदार नलिने निर्णय गरेको छ ।

त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका मुलुकबाट तत्काल कामदार नलिने बताएको छ । बहराइनको कोरोना भाइरसको उच्च जोखिमको लिस्टमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भियतनाम रहेका छन् । 

बहराइनले नेपालीलाई तत्कालका लागि भिसा जारी नगर्ने गरी गरेको यो निर्णयलाई खाडीका अन्य मुलुकहरूले पनि पछ्याउन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले खाडीका देशमा रहेका नेपाली राजदूतहरूले नेपालमा सङ्क्रमणको दर कम हुँदै गएको विषयमा आश्वस्त पार्नु आवश्यक रहेका बताएका छन् ।

यसअघि विश्वका अति व्यस्त विमानस्थलका प्रमुखहरूले कोरोना भाइरस सङ्क्रमणको विस्तार रोक्न कोभिड राहदानीको अवधारणा सार्वजनिक गरेका थिए । उक्त अवधारणा अनुसार कोभिडपछिको समयमा विदेश यात्रा गर्नेको साथमा भिसा रहेको राहदानीसहित खोप लगाएको प्रमाणपत्रको विद्युतीय प्रति देखाउनु पर्नेछ । 

बहराइनमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ७३१ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४४ हजार ५७९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार २२१ रहेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बहराइनले पनि सङ्क्रमितको राष्ट्रियताबारे खुलाएको छैन । अहिलेसम्म कोरोनाबाट त्यहाँ के कति नेपाली सङ्क्रमित भए कतिले ज्यान गुमाए त्यहाँस्थित नेपाली दूतावाससँग पनि कुनै तथ्याङ्क छैन ।

त्यहाँबाट पनि नियम उडान नहुँदा खास गरी उडान बन्द हुनु अगावै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्