मनाङमा बाढीबाट विस्थापित भएका तीन सय जनालाई सुरक्षित ठाउँमा सारियो



मनाङ । हिमाली जिल्ला मनाङमा बाढी आएपछि विस्थापित भएका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासी सँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । 

‘विस्थापित तथा जोखिममा रहेका गरी झन्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’ उहाँले भन्नुभयो, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेका छन् ।

उहाँका अनुसार बाढीका कारण मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन् । बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन् ।

बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ । बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको प्रजिअ लामिछानेले बताए । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको उहाँले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्