कर्णाली बजेट : उत्कृष्ट किसानलाई सुनको हलो



वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको हलो प्रदान गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत् प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो प्रदान गरिने बताएका हुन् ।

बजेटमा भनिएको छ– ‘कृषि पेसालाई मर्यादित बनाई कृषकहरुलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषकलाई पुरस्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएको छ ।’

यस्तै एक स्थानीय तह एक कृषि उपज उत्पादन पकेट कार्यक्रमलाई निरन्तरता दिइएको छ भने त्यसका लागि दिएको २१ करोड ६० लाख विनियोजन गरिएको छ ।

मर्यादित, गुणस्तरीय विधिसम्मत र सुशासनयुक्त सहकारी क्षेत्र विकासका लागि प्रभावकारी नियमन, प्रशिक्षण, प्रत्येक स्थानीय तहमा २ जना सहकारी प्रशिक्षक रहने गरी सहकारी प्रशिक्षक तालिम र प्रबद्र्धनका साथै संरचनागत सुधारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

सहकारी क्षेत्रको सुधारको लागि पाँच वर्षे योजना तयार गरी लागू गरिनेछ । यसका लागि रु १ करोड ६५ लाख रकम विनियोजन गरिएको शर्माले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्