काठमाडौँ। कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनीत गरेका छन्।ठाकुरले मनोनीत गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्। ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई कार्यकारिणी समितिको सदस्य बनाएका छन्। ठाकुरनिकट स्रोतले दिएको जानकारी अनुसार ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यहरूलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेका छन्।
जसपाका दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन्। उपेन्द्र यादवको ठाउँ उनले खाली राखेका छन्। पहिलो अध्यक्षमा आफ्नो नाम राखेका छन् भने दोस्रो अध्यक्षमा नाम खाली राखेका छन्। ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा. विजयसिंह, सुरेन्द्र झा, विमल श्री वास्तव, राजीव झा, उमाशङ्कर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत छन्। कार्यकारिणी समितिमा थपिएका अरगरैया, श्री वास्तव, तथा इकबाल वर्तमान सरकारका मन्त्री पनि हुन्।
ठाकुर पक्षले थप गरेको कार्यकारिणी समितिको सूचीमा ठाकुरले मात्र हस्ताक्षर गरेका छन्। पहिलो अध्यक्षले गरेको हस्ताक्षरले वैधानिकता पाउने ठाकुरनिकट एक नेताले बताए। उनका अनुसार कार्यकारिणीमा दुई अध्यक्षसहित ५१ सदस्यीय बनाइएको छ। ठाकुरले गरेको मनोनयनमा पूर्वराष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी, अनिल झा र राज किशोर यादव निकट व्यक्तिहरूलाई भने समेटिएको छैन। भण्डारी निकट राष्ट्रियसभामा सदस्य शेखर सिंहलाई कार्यकारिणी समितिमा राखिएको छैन। यसै गरी, ठाकुरसँग निकट मानिए पनि नखुलेका गोविन्द चौधरीलाई कार्यकारिणीमा राखिएको छैन।
यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले बुधवार कार्यकारिणी समितिको बैठक बोलाएका छन्। मङ्गलवार उनले केही कानुन व्यावासयीहरू सँग सरसल्लाह गरेका थिए। कानुन व्यवसायीहरूले पुनः निर्वाचन आयोगमा जान या सर्वोच्चमा रिट दायर गर्न यादवलाई सल्लाह दिएका थिए। यसबारेमा निर्णय गर्न बुधवार कार्यकारिणी समितिको बैठक बोलाइएको यादव पक्षले जनाएको छ। मङ्गलवार यादवले विज्ञप्ति निकाली निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेका थिए। नागरिक दैनिकबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।