टप फिचर

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

By Thah Online

June 16, 2021

काठमाडौँ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । गण्डकी प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन् । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मङ्गलवार नै दर्ता भइसकेको छ। मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मङ्गलवार प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल सुरु हुने बताइएको छ ।

कुल ६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद सङ्ख्या ५९ कायम भएको छ । मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अहिलेको स्थितिमा ३० सांसदको विश्वास प्राप्त गरे पनि हुन्छ। उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले समर्थन गरेका थिए ।