नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह



बाजुरामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो । मङ्गलवार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा अविरल वर्षाले अप्रिय घटना घट्न सक्ने भएकाले विपद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ ।

पहिरोको जोखिममा रहेका घर तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षा धेरै भई पहिरोको त्रास भएमा नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित स्थलमा वा छिमेकीको घरमा जान जोखिमबाट टाढा रहन आग्रह गरिएको प्रजिअ अधिकारीले  जानकारी दिनुभयो ।

बाढी, पहिरोलगायतका विपद्का घटना हुने आशङ्का लागेमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन ९८५८४९००५३ वा जिल्ला प्रशासन कार्यालय बाजुरामा रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको टेलिफोन नं ९८६४३१४०६६ र ०९७५४१३१४ मा सूचना दिन प्रजिअ अधिकारीले अपिल गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्