Banner First

मेलम्चीमा बाढीमा फसेकालाई यसरी उद्धार गर्दै छ नेपाली सेना

By Thah Online

June 16, 2021

काठमाडौँ ।  बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । बाढीमा फसेकालाई नेपाली सेनाले उद्धार गरिरहेको छ । सेनाले एयर लिफ्ट गरेर आज बिहान तीन जनाको उद्धार गरेको छ भने अरूको पनि उद्धार कार्य जारी छ ।

रात भरी बाढी र पहिरोले घरभित्र नै थुनिएका तीन जनाको नेपाली सेनाले उद्धार गरेको हो। उनीहरूलाई मेलम्चीकै अर्को सुरक्षित ठाउँमा उद्धार गरेको थियो। नेपाली सेनाको एमआइ ७० हेलिकप्टरले अहिले एयर लिफ्टीङबाट उद्धार गरिरहेको छ।

हेलिकप्टर बस्न नसक्ने भएकाले एयर लिफ्टिङ गरिएको हो। अहिलेसम्म सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । कति मानिस अझै उद्धारको अपेक्षामा बसेका छन् पत्तो छैन ।

करिब ५० जनाभन्दा बढी हराइरहेका छन् । उनीहरूको खोजी जारी छ । मङ्गलवार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुराएको छ । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चार वटा पुल बगेका छन् । सडकहरू पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।