टप फिचर

बजेट कार्यान्वयनको सवालमा अव कुनै कसर बाकी राख्दैनौँ: अर्थमन्त्री शाह

By Thaha - Online

June 16, 2021

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३० अर्बको बजेट ल्याएको छ । हिजो मङ्गलवार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको मन्त्री शाहले घोषणा गर्नुभएको हो ।

चालू आर्थिक बर्सभन्दा झन्डै ३ अर्ब बजेट घटेर ल्याइएको छ । चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्यार्ईएको बजेटका बारेमा आज बुधवार पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षका लागी ल्याइएको बजेट उत्कृष्ट रहेको बताएका छन् ।

साथै मन्त्री शाहले आफूहरू बजेट खर्च तथा कार्यान्वयन गर्ने दृढताका साथ लाग्ने र अब हामी सँग ‘ईट, बट’ भन्ने बाहान बनाउने समय पनि छैन र त्यो जनताले स्वीकार पनि नगर्ने बताए । त्यस्तै, अन्तर क्रियाकै क्रममा मन्त्री शाहले पहिलो चौमासिकबाटै बजेट कार्यान्वयनको चरणमा जाने दाबी गर्दै अब हामी बजेट कार्यान्वयनको सवालमा दृढतासाथ लाग्ने र जनताले चाहेको नतिजा आउने काम गर्ने प्रतिबद्धता जाहेर गर्दै उहाँले बजेट कार्यान्वयनको लागी ‘थर्डपाटी’ अनुगमन समितिको समेत व्यवस्था गर्ने बताए ।

मन्त्री शाहले भने,‘ ‘हामीले छोटो अवधिमा उत्कृष्ट बजेट ल्याएका छौँ, सबै क्षेत्रलाई समेटेर जनतामुखी बजेट ल्याएका हौँ।’ मन्त्री शाहले कोरोना महामारीका कारण अर्थतन्त्र चलायमान बन्न नसक्दा चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट ३ अर्ब कम रहेको बताए । ‘बजेट चालु वर्ष भन्दा कम रहे पनि आगामी वर्षमा हामी बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेका छौँ’,मन्त्री शाहले भने ।