अचानक ट्राफिक प्रहरी सहायक निरीक्षक झाको सरुवा



सवारी पास र चालक अनुमति पत्र दुवै नरहेको भेटिएपछि ट्राफिक प्रहरीले होल्ड गर्दा असईको सरुवा भयो । वृत्त महाराजगन्जमा कार्यरत ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा एक असल,इमानदार र कार्यसम्पादन समेत राम्रो भएको पुलिस हुन । तर, अचानक असई झाको सरुवा भएको छ।

असई झालाई लखेटेर महाराजगन्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गी खाना) पठाइएको छ। केही दिनअघि सामाजिक सञ्जालमा असई झालाई ‘सरुवा गरिदिन्छु’ भन्दै धम्की दिएको भिडियो भाइरल भएको थियो। भिडियोमा एक युवतीले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौकीभित्रै थर्काएको सुनिन्छ। ती युवती हुन्, आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला सङ्ग्रौला।

सङ्ग्रौलाले असई झालाई ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी थिइन्। आज साँच्चिकै असई झाको सरुवा भएको छ। ज्वाला सङ्ग्रौलाले गत ११ जेठमा असई झालाई त्यहाँबाट जसरी पनि सरुवा गराउने धम्की दिएकी थिइन्। त्यसको दुई साता नबित्दै उनलाई महाराजगन्जबाट सरुवा गरेर बग्गी खाना पठाइएको हो।

सङ्ग्रौलाले जसरी हुन्छ सरुवा गराएरै छाड्छु भनेर धम्की दिनु, यता असई झाको सरुवा हुनुले प्रहरीको मनोबल कमजोर अवश्य हुन्छ। निषेधाज्ञाको बेला सवारी पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरूलाई झासहितको ट्राफिक प्रहरीको टोलीले रोकेर सोधपुछ गरेको थियो। पास र चालक अनुमति पत्र दुवै उनीहरूसँग नरहेको भेटिएपछि झाले उनीहरूको सवारी होल्ड गरेका थिए।

त्यसपछि विवाद भएपछि उनीहरूले असई झाले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए। प्रहरी चौकीभित्रै खिचिएको भिडियोमा ज्वालाको समूह र प्रहरीहरूबिच विवाद भएको देखिन्छ। इन्स्पेक्टर श्रेष्ठले भने विनम्र बन्दै सम्झाउने कोसिस गरेका छन्। भिडियोमा देखिएअनुसार प्रहरी कार्यालयमा सङ्ग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए।

त्यसपछि संग्रौलासहितको टोलीले ‘झा… मधेसी…अब मधेश तिरै गएर खेती किसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन’ जस्ता रङ्गभेदी शब्दसहित दुर्व्यवहार गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्