ठाउँठाउँमा बाढी–पहिरोको वितण्डा : मेलम्ची करिडोर तहसनहस, एककाे मुत्यु, कम्तीमा २० जना बेपत्ता



सिन्धुपाल्चोक। वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची कोरिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।

मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मङ्गलवार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति फु¥आएको छ। बाढीले बगाएका एक पुरुषको सब बुधवार इन्द्रावती नदीमा भेटिएको प्रहरीले जनाएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन। बाढीमा २० जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै विभिन्न ठाउँबाट ७० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश नेपालका अनुसार बाढीमा बेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका माधव भण्डारी (३१), गणेश ज्योति (४२), टीकामाया खड्का (६२), ज्ञानेन्द्र कक्ष पति (५५), श्यामा तामाङ (५०), उनकी पत्नी र चौतारा साँगाचोक गढी नगरपालिका–६ का सुरेन्द्र नेपाल (२३) छन्। खड्का कउलस्थित भण्डारी रिपोर्टकी कामदार र कक्ष पति ट्राउट माछा व्यवसायी हुन्।

बेपत्ता भएका अन्य आठ जनामा मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कामदार रहेको जानकारी डिएसपी नेपालले दिए। बेपत्ता कामदारमा ती नजना चिनिया, ती नजना भारतीय र दुई जना नेपाली छन्। उनीहरूले मेलम्ची आयोजनाको मुहान स्थल हेलम्बुको अम्बाथान स्थित क्याम्पमा बसेर बाँध बनाउने काम गर्थे। ठेकेदार कम्पनीले हराएका कामदारको खोजी गरिदिन स्थानीय प्रशासनलाई पत्राचार गरेको छ। शुक्रवार साँझबाटै उनीहरू हराइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेको सङ्ख्या अझै धेरै हुन सक्ने स्थानीयको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा सडक र सञ्चार सम्पर्क टुटेकाले क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।

‘व्यापक जनधनको क्षति पुगेको आङ्कलन गरिएको छ। तर क्षतिको यकिन विवरण प्राप्त गर्न सकिएको छैन,’ उनले भने। वर्षा भइरहेको र नदी सतह नघटेका कारण बेपत्ताको खोजी, राहत वितरण, उद्धार र क्षतिको विवरण सङ्कलन गर्न समस्या भएको सहायक प्रतिअ खनालले बताए।

बाढी आएपछि मेलम्ची कोरिडोरमा फसेका ६० जनाको नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टरबाट बुधवार सकुशल उद्धार गरिएको छ। मेलम्ची आयोजनाको क्याम्पबाट ४७ कामदारको उद्धार गरिएको छ। त्यहाँ ६०/७० कामदार बस्दै आएका आयोजनाले जनाएको छ। बाढी पसेपछि मेलम्ची बजारका घरका छतमा बसेका चार जनाको पनि उद्धार गरिएको छ।

हेलम्बुको नवखोतेदेखि तम्बु, मेलम्ची हुँदै झन्डै २० किलोमिटर तलको तटीय क्षेत्रसम्म बाढीले व्यापक क्षति फु¥आएको छ। हेलम्बु गाउँपालिकामा धेरै क्षति भएको अनुमान गरिएको छ। बाढीले झन्डै एक सय घर, दर्जन पक्की तथा झोलुङ्गे पुल बगाएको छ। बजार क्षेत्रमा रहेका सुरक्षा निकायका कार्यालय र ब्यारेक पनि डुबानमा छन्। खोलाले सडक र खेतीयोग्य जमिन बगाएको छ। नदी जसपाका आधा दर्जनभन्दा बढी माछा र कृषि फार्मसमेत बाढीले बगाएको छ।

हेलिकोप्टरबाट बुधवार मेलम्ची खोलाको उद्गमस्थल अवलोकन गरेका स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले पहिरोले मेलम्ची नदी थुनेर खुलेपछि बाढी निम्तिएको बताए। ‘घटनास्थलको प्रकृति हेर्दा पहिरो खस्ने, नदी थुनिने र खुल्ने क्रम केही पटक चलेपछि ठुलो बाढी आएको देखिन्छ,’ स्थानीयसमेत रहेका उनले भने। उनका अनुसार हेलम्बुको चोक्पु बाट ५ सय मिटरमाथि पहिरो खसेर खोँचबाट बगेको खोला थुनेको देखिन्छ। त्यहाँ ठुलो पहिरो गएको उनले जानकारी दिए। पहिरो स्थल मेलम्ची मुहानबाट तीन किलोमिटर माथि पर्छ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा मानवीयसहित धेरै भौतिक क्षति भएको बताए। उनका अनुसार बाढीले एक दर्जनभन्दा बढी घर रहेको तल्लो तम्बु बजार बगाएको छ। नवखोतेको पक्की पुल, मेलम्ची आयोजना सुरक्षार्थ स्थापित नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी डुबानमा परेका छन्। डुबानमा परेको चनौटे, मालामालता बजार क्षतिग्रस्त छ।

बाढीले मेलम्ची बजार बगरमा परिणत गरेको छ। मेलम्चीको पुरानो र माथिल्लो बजार डुबानमा परेको प्रहरीले जनाएको छ। यहाँ डुबानमा परेका ४४ घरमा क्षति पुगेको छ। बजारबाटै खोलो बगिरहेको छ। पाँच तले घरका दुई तला डुबेका छन्। सदरमुकाम चौतारा जाने इन्द्रावती नदीमाथिको पक्की तथा त्यस नजिकै रहेको ९० वर्ष पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। ४ करोड रुपैयाँ खर्चेर बनाइएको ग्रिन सिटी पार्क, निर्माणाधीन बहुउद्देश्यीय कार्ड हल, रेडियो मेलम्चीको भवन, बसपार्क, क्रियापुत्री भवन लेदो माटोले पुरिएका छन्। दुवा चौर जोड्ने र फट्टेको पक्की पुलसमेत बाढीले बगाएको छ। मेलम्ची दोभानकै झोलुङ्गे पुल पनि बाढीले तानेको छ।

मेलम्चीको आधा बजार क्षेत्र बगर बनेको स्थानीयले बताए। झन्डै तीन सय बजारवासी स्थानीय विद्यालय, सुरक्षा निकायका ब्यारेक र टार क्षेत्रमा आश्रित छन्। सडक र सञ्चार सम्पर्क टुटेको छ। पोलहरू ढल्दा दुई दिनदेखि बिजुली बत्ती छैन। मङ्गलवार दिउँसोदेखि बाढी आउन सुरु गरेकाले स्थानीयले भाग्ने मौका पाउँदा मानवीय हताहत धेरै हुन नपाएको सहायक प्रतिअ खनाल बताउँछन्। नदी किनारका स्थानीयलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको उनले बताए। ‘सम्भावित जोखिम अझै कम भइसकेको छैन,’ उनले भने।

बाढी पहिरोले मेलम्ची–इन्द्रावती नदी कोरिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँच पोखरी थाङपाल धाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट एक्लिएका हुन्। बिजुली आपूर्ति नहुँदा सबैका मोबाइल फोन स्विच अफ छन्। सञ्चारका अन्य साधनले पनि काम गरेका छैनन्। हेलम्बु मार्ग अवरुद्ध छ। सडकमा पुल पुलेसा छैनन्। ग्रामीण सडक टुटेको छ। हिँडडुल गर्ने झोलुङ्गे पुल चुँडिएका छन्। बाढीपीडित त्रास, भोक र शोकमा छन्।

मेलम्ची, लार्के, यांग्री र इन्द्रावती नदीले स्थानीयलाई थुनेर राखेको छ। ओल्लो–पल्लो गाउँबिच सञ्चार र अन्य सम्पर्क विच्छेद छ। वैकल्पिक मार्ग सदरमुकाम जोड्ने इन्द्रावती नदीमाथिको मोटरे वल पुल बगेको छ। मेलम्ची बजारमाथि हेलम्बुमा आधा दर्जन पुल भत्किएका छन्। इन्द्रावती पुल भत्किँदा पाँच पोखरी थाङ पाल गाउँपालिका आउजाउ गर्ने बाटो छैन। दुवा चौर जोड्ने पक्की पुल पनि बाढीले बगाएको छ।

तम्बु, मेलम्चीघ्याङ लगायत स्थानका पुल पनि भत्किएका छन्। ‘सडक र सञ्चार सम्पर्क टुट्दा बाढी प्रभावित क्षेत्र सबै कुराबाट एक्लिएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी खनालले भने। उनले बाढी प्रभावित क्षेत्रमा रहेका सुरक्षाकर्मी र सरकारी निकायसँगै सम्पर्क हुन नसकेको बताए। खनालका अनुसार सडक र सञ्चार सम्पर्क टुटेकै कारण घाइतेको उद्धार, बेपत्ताको खोजी, राहत वितरणलगायत काम प्रभावकारी हुन सकेको छैन। खराब मौसमका कारण हेलिकोप्टर उडान पनि सम्भव भइरहेको छैन। नागरिक दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्