अमेरिकी दूतावास काठमाडौंबाट केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु



अमेरिकी दूतावास काठमाडौँले केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको छ । कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौँले अप्रिल २९ देखि सम्पूर्ण भिसा अप्वाइन्ट मेन्टहरु रद्द गरेकोमा आज एक सूचना जारी गर्दै केही केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको जानकारी दिएको छ ।

कन्सुलर सेक्सनले अमेरिकी नागरिकका नजिकका नातेदार र मंगेतर, ग्रिनकार्डवाहकमा आएर एकबर्षभन्दा धेरै समय बसेकाहरुका लागि रिटर्निङ रेसिडेन्ट भिसा र क्षमताले साथ दिएसम्म अन्य आप्रवासी भिसाहरु प्रकृयामा लैजान सुरु गरेको छ । डिभी २०२१ का विजेताहरुले भिसा पाइसक्नुपर्ने अवधि झण्डै साढे तीनमहिनमात्र बाँकी रहँदा उनीहरुको भिसा प्रकृयामा लैजाने वा नलैजानेबारे दूतावासले केही बताएको छैन ।

त्यस्तै कुटनीतिक भिसा, स्वास्थ्य र अन्य आपतकालिन अवस्थाका लागि गैरआप्रवासी भिसा र अन्तरवार्ता विना नै नविकरण गर्न सकिने भिजिटर भिसा पनि दूतावासले प्रकृयामा लैजान सुरु गरेको छ । नियमित भिसा सेवा कहिलेदेखि सुरु हुने भन्नेबारे अहिले नै केही बताउन नसकिने तर नियमित भिसा सेवामा फर्किनु सुरक्षित भएको निर्धारण हुनासाथ नियमित भिसा सेवा संचालन हुने दूतावासले जनाएको छ ।

आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न जानुपर्ने र डिभी लोटरी विजेताहरुलाई अन्तर्वार्ताको लागि दुतावास सम्म जानको लागि सहजीकरण गर्ने निर्णय गरेको थियो । नेपाल सरकारकाबाट जारी स्वास्थ्यका मापदण्ड परिपालना गरी कुटनीतिक नियोगले आवश्यक अन्तर्वार्ता लिन सक्ने प्रमुख जिल्ला अधिकारीहरुको निर्णयपछि अमेरिकी दूतावास काठमाडौँले आंशिक भिसा सेवा सुचारु गरेको हो ।

डिभी विजेताका सन्दर्भमा दूतावासले केही दिन अगाडि प्रश्नोत्तर जारी गरेको थियो । तर डिभी विजेताको भिसा विदेश मन्त्रालयले अन्तिम प्राथमिकतामा राखेका कारण सन् २०२१ का झण्डै ३८ सय नेपाली डिभी विजेताहरु चिन्ता र अन्यौलमा छन् । दूतावासले आंशिक रुपमा भिसा सेवा संचालन गरेपछि डिभी विजेताहरुमा भिसा पाउने आशा भने पलाएको छ ।

कोरोनाको महामारीका कारण अमेरिकी सरकारले डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राखेपछि २०२१ का डिभी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्ने प्रावधान रहेकाले वर्तमान प्रावधान अनुशार सेप्टेम्बर अन्तिमसम्म भिसा नपाएका हरुले त्यसपछि भिसा पाउनसक्ने छैनन् ।

आर्थिक बर्ष २०२१ मा ३८०१ जना नेपालीहरुले डिभी लोटरी जितेकोमा अहिलेसम्म कसैले पनि भिसा पाउन सकेका छैनन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए । उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२१ का विजेताको टुंगो नलागेपनि डिभी २०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावास काठमाडौँले सुझाव दिएको छ । दूतावासले भनेको छ – ‘तपाईंहरू मध्ये जतिजना डिभी २०२२को लागि छनौट हुन सफल हुनुभएको छ, हामी तपाईंलाई अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुहुन आग्रह गर्दछौं।’

यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क भर्न सक्ने र यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत नपर्ने पनि दूतावासले स्मरण गराएको छ । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्