नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्ने छ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ।नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ।

क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ। भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ। गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ।

प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछन्। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुनेछ।

संशोधित तालिकाअनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ भने महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ। कोरोना महामारी र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी बैठकमा महाधिवेशन गर्ने विकल्पका विषयमा पनि छलफल हुने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्