फाइरिङ गर्दै सुनचाँदी पसलको लाखौं लुटपाट, ५ घाइते



महोत्तरी । लुटेराको एक समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेको हो ।

लुटपाटका क्रममा लुटेरा समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् ।  गाली लागेर पसल संचालक वीरेन्द्र साह घाइते भएका छन् । उनलाई कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ ।

उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै लुटेराहरूले रड प्रहार गरी घाइते साहको श्रीमती सुशीला देवी साह, छोरा शम्भु साह, छोरी कंचन कुमारी साह, छोरा राजिव साह घाइते रहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जनाए ।

सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारदेखि २०० मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा रहेको साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यरातमा लुटेराहरूले गोली प्रहारसँगै लुटपाट समेत गरेका थिए ।

लुटेराहरू घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लुटेराहरू कटुवा पेस्तोल, फलामको रड प्रयोग गरी संचालक वीरेन्द्र साहसहित घरमा रहेका उनका श्रीमती, छोरा र छोरी माथि आक्रमण गर्दै घर भित्र रहेको नगद र गरगहना समेत लुटेर फरार भएको महोत्तरीका प्रहरी निरिक्षक रंजन मिश्रले बताए ।

उनले प्रारम्भिक जानकारी अनुसार लुटेराहरूले चाँदी १७२ तोला करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको रहेको थियो भने सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको थियो । त्यस्तै नगद २ लाख रुपैयाँ समेत लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ ।
संचालक साह सहित परिवारजनहरू समेत घाइते अवस्थामा रहेकाले लुटपाटको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

महोत्तरीमा लुटेराहरूको समुहले यो दोश्रो पटक आक्रमण सहित लुटपाट भएको हो । गत सातामात्रै महोत्तरीको लोहरपट्टी नगरपालिका स्थित बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीमाथि गोली हानी गम्भिर घाइते बनाएको थियो ।

गोली लागि घाइते भएका संचालक साहलाई धरानस्थित अस्पतालमा उपचार भईरहेको छ भने अन्य ४ जना घाइतेको उपचार जनकपुरधाममा भईरहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्