बीमा भरेमा अनुदान दिन्छु भनी ४० लाख ठगेको आरोपमा पक्राउ



काठमाडौं । प्रलोभन देखाई ठगी गर्दै आएका बैतडीका एकजना पक्राउ परेका छन् । बुधबार पाटन नगरपालिका–२, सिलंगाका कमलराम विक पक्राउ परेका छन् ।

विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले जानकारी दिए । बीमा भरेमा अनुदान दिन्छु भनी ठगी गरेको भन्दै स्थानीयवासीले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताए ।

विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयवासीहरुबाट रकम संकलन गरेर ठगी गरेको पाइएको हो । उनले भने, “महेन्द्रनगरबाट २५ लाख रुपैयाँ र बैतडीबाट १५ देखि २० लाख रुपैयाँ रकम संकलन गरेर स्थानीयवासीलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियन्त्रणमा रहेका विकमाथि आज मुद्दा दायर हुन्छ ।”

सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिएका छन् । उनले थपे, “एक वर्षदेखि बीमाको एजेन्ट भनी ठग्दै हिँडेको रहेछ, पछिल्लो चार महिनादेखि प्रहरीले खोजी गरिरहेको थियो ।” कमलराम बीमाको एजेन्ट भए पनि उनीमाथि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ । स्

थानीयवासीबाट बिमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कमलले ठगी गरेको भन्ने ६० जनाजति सम्पर्कमा आएको शाहीको भनाइ छ ।

कमलराम विकसँगै दुईजना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र उनीहरु फरार रहेकोले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्