टप फिचर

चोरी आरोपमा कुटाइ खाएकी दलित गर्भवती महिलाले गुमाइन् मानसिक सन्तुलन

By Thah Online

June 17, 2021

मोबाइलको सिम चोरी गरेको झुटो आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवती दलित महिलाले मानसिक सन्तुलन गुमाएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी  देवीका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा  तीन महिनाको गर्भवती २५ वर्षीय शोभादर्जीले मानसिक सन्तुलन गुमाएकी हुन् । कुटपिटपछि कडा खाले मानसिक रोगी बनेकी शोभाको हाल सुनसरीको धरान स्थित बिपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ । 

छिमेकीको मरणासन्न कुटपिटबाट मानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने र उपचारका लागि धामी झाँक्री लगाउने गरेको थियो । तर, औषधी सेवन गर्नुपर्ने दिमागी रोग भएकोले धाम झाँक्रीले उनको रोग निको पार्न सकेनन् । 

रोग बल्झिँदै गएपछि उनी झन् बिरामी भइन् । मानसिक रोगी शोभाले दिन प्रतिदिन छिमेकी मगर परिवारलाई जथाभाबी गालीगलौज गर्दै हिँड्न थालिन्  ।  गाउँलेहरूले बौलाइले गाउँमा दुःख दिन थालेको भन्दै उल्टो आरोप लगाउन थालेपछि परिवारले उनलाई बाँधेर राख्न थाल्यो । तर पनि उनको व्यवहारमा सुधार नभएपछि वडा अध्यक्षको सहयोगमा उनलाई उपचारका लागि १० दिन अघि अस्पताल भर्ना गरिएको बुबा हर्कबहादुर दर्जीले बताए । 

अस्पताल भर्ना भएर उपचार गराइरहेकी शोभाको स्वास्थ्यमा अझै सुधार आई नसकेको र उनी तीन महिनाको गर्भवती समेत रहेको चिकित्सकहरूले जानकारी दिएको श्रीमान् उमेश तामाङले बताए । श्रीमान् उमेशका अनुसार गर्भवती भएकोले रोगको हिस्ट्री पत्ता लगाउन चिकित्सकहरूले शोभाको सिटी स्क्यान गराउन सकेका छैनन् । 

उमेश तामाङसँग अन्तर्जातीय विवाह गरेकी शोभाको ७ वर्षीय एक छोरी छन् । उनीहरू पनि नजिकै रहेको चिसाङ खोलामागिट्टी कुटेर जिविको पार्जन गर्ने गर्दथे ।  गणेश लम्सालले लेखेको यो समचार नँया पत्रिकाबाट जस्ताको तेस्तै साभार