‘नेता खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल छैन’



काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नभएको सचिवालयले जनाएको छ। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बाहिर सञ्चार माध्यममा आएजस्तो खनालको अवस्था पूर्ण जटिल नभएको बताएका हुन् ।

स्वकीय सचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूलाई ज्वरो आएको कारण गत सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिए पश्चात् डाक्टरहरूको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि हिजो नै वहाँलाई नेपाल एयरलाइन्सको हवाई जहाजबाट दिल्ली लगी अपोलो अस्पतालमा भर्ना गरिएको छ। हिजोबाट नै वहाँलाई उपचार थालिएको छ ।

बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउँदछौँ। यसैबिच वहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण शुभेच्छुक र शुभचिन्तकहरूमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।’

नेता खनालको स्वास्थ्यमा समस्या आएसँगै सोमबार नर्भिक अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । उनलाई थप उपचारको लागि दिल्ली लगिने परिवारको आग्रहपछि बुधवार दिउँसो नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली लगिएको हो । खनालको भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ । लामो समयदेखि निमोनियाको बिरामी रहेका नेता खनालको फोक्सोमा पानी जमेको, रगत र पिसाबमा इन्फेक्सन लगायतका समस्या रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्