सर्लाहीका बजारमा विषादीयुक्त आँप छयापछ्याप्ती



सर्लाही । सर्लाहीका बजारहरूमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरूको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरूले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न सुरु गरेका हुन् ।

भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरू जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँ गाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो ।विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा उनको छोरो दुई\तीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उहाँले बताउनुभयो ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा प्रगति राना मगरले बताउनुभयो । कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुने लगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा रानाले सुझाव दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्