काठमाडौँ – सामाजिक सञ्जाल ट्विटरमा अहिले प्रहरीमाथि रंगभेदका शब्द प्रयोग गरेर अपमान गरेको भिडियो भाइरल भएको छ । ४५ सेकेन्ड लामो सो भिडियोमा प्रहरीमाथि रंगभेदी व्यवहार गरेको प्रस्ट देखिन्छ, सुनिन्छ । आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध दिएको रङ्गभेदी अभिव्यक्तिको छानबिन सुरु भएको छ ।
मधेसी आयोगमा बुधवार संग्रौलाको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो । आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले आयोगबाट अनौपचारिक रूपमा जानकारी आइसकेको र लिखित जानकारी आएपछि छानबिन सुरु गरिने बताउनु भयो ।
बुधवार आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको आयोगका अध्यक्ष विजयकुमार दत्तका स्वकीय सचिव दीपेन्द्र कुमार यादवले बताएका छन्। उनको अभिव्यक्तिप्रति गम्भीर आपत्ति रहेको जनाउँदै उजुरी दर्ता भएको थियो । संग्रौलासहितको टोलीको गाडी ड्युटीमा खटिएका असई झाले रोकेर जाँच सुरु भएपछि असई झामाथि रङ्गभेदी व्य’वहार समेत भएको थियो। निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए। तर, उनीहरूले देखाउन सकेका थिएनन्।
त्यसपछि लाइसेन्स माग्दा समेत उनीहरूले लाइसेन्स देखाउन सकेका थिएनन्। प्रहरीले गाडी होल्ड गर्न लगाएपछि विवाद भएको थियो। महाराजगञ्ज चोकबाट भएको विवाद ट्राफिक वृत्तसम्म पुगेको थियो । प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए। त्यसपछि संग्रौलासहितको टोलीले रंगभेद हुने शब्द प्रयोग गर्दै दु’र्व्यवहार गरेका थिए । नेपाल लाइभबाट साभार

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।