अनुहारमा लगाउनै नहुने यी १० चिज



काठमाडौँ।  घाँटीदेखि माथि नाक, मुख, आँखासहितका  अङ्ग समेत टाउकाको अगाडिको भागलाई अनुहार भनिन्छ। कुनै पनि व्यक्तिको पहिचान तथा परिचयका लागि अनुहारले महत्त्वपूर्ण भूमिका खेल्दछ । अनुहारले नै हो, मानिसको व्यक्तिलाई सकारात्मक र नकारात्मक प्रभाव पार्ने।

यदि व्यक्तिको अनुहारमा थुप्रै दाग, पोतो, डन्डिफोर छन् भने यसले उसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने गर्छ। यस्ता व्यक्तिहरू आफ्नो अनुहारलाई लिएर धेरै संवेदनशील हुने गर्छन्। जस कारण सामाजिक भेटघाटमा नजाने, एक्लै बस्ने, साथीभाइ नभेट्ने अनि अन्ततः डिप्रेसनको सिकार हुने गर्दछन्।

त्यसै गरी, यस्ता समस्याबाट मुक्ति पाउन उनीहरूले चिकित्सकको परामर्श बिना अनेकौँ रसायन उक्त क्रिम, पाउडरदेखि लिएर अन्य थुप्रै घरेलु उपचारको सहारा लिन थाल्छन्। जसले अनुहारको छालालाई प्रत्यक्ष र अप्रत्यक्षता थुप्रै नोक्सानी पुराइरहेको हुन्छ।

 अनुहारमा लगाउनै नहुने १० चिज

साबुन र स्याम्फू  –  साबुन र स्याम्फूमा सल्फेट भन्ने रासायनिक पर्दाथ पाइन्छ। यस पदार्थले फिँज निकाल्ने काम गर्छ। यदि साबुन वा स्याम्फू अनुहारमा लगाइयो भने यसले अनुहारको चिल्लोपनलाई सुख्खा बनाउँछ ।  साथै अनुहारको चिल्लोपनालाई घटाई छालाको पीएचको मात्रालाई पनि गडबड गर्दिन्छ, जसले अनुहारको छालामा अन्ततः क्षति पुग्दछ।

धेरै तातो र चिसो पानी – अनुहारमा धेरै तातो पानी पनि प्रयोग गर्नुहुँदैन। यसले छालामा भएको पिएच मात्रालाई कम गरी छालामा भएको चिल्लोपन वा मोइस्चरलाई पनि कम गर्दछ।  जसले छाला सुख्खा र फुस्रो हुने गर्दछ। त्यसै गरी, धेरै चिसो पानी पनि अनुहारमा प्रयोग गर्नु हुँदैन। त्यसैले, अनुहारलाई मनतातो पानी वा  ठिक्क चिसो पानीले मुख धुँदा उपयुक्त हुन्छ।

स्टेरोइड भएका क्रिम – बजारमा पाइने स्टेरोइड भएका क्रिम वा मल्हमहरुको लामो समयसम्म प्रयोग गर्नाले यसले छालालाई पातलो बनाई मुखको छालालाई संवेदनशील बनाउँछ र रगतका नसाहरू देखिएर मुख रातो हुने गर्दछ । त्यसैले, स्टेरोइड भएका क्रिमहरू प्रयोग गर्दा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ।

कागती – घरेलु उपचार गर्न धेरै मानिसहरूले कागतीको रसलाई अनुहारमा लगाउने गर्छन्। कागतीको रसमा भिटामिन ’सी’ को मात्रा बढी हुन्छ र यसको रस मुखमा लगाउँदा यसले छालालाई नकारात्मक असर पुर्‍याउँछ। जब कागतीको रस लगाएको अनुहार सूर्यको प्रकाशको सम्पर्कमा आउँछ, यसले रियाक्सन गर्दै एलर्जी हुने गर्दछ। र यस्ता एलर्जीका दागहरू लामो समयसम्म अनुहारमा बस्ने गर्दछ।

बडीलोसन वा  बडी मोइस्चराइजर – बजारमा पाइने बडीलोसन तथा मोइस्चराइजर पनि अनुहारमा धेरै लगाउनु हुँदैन। यी उत्पादनहरू विशेष गरी जिउँका लागि बनाइएको हुन्छ र  यसमा भएका थुप्रै रासायनिक पदार्थले अनुहारको छालालाई जर्रो, सुख्खा बनाउँछ। जुन, छालाको लागि पनि त्यति फाइदाजनक हुँदैन।

नरिवलको तेल –  विशेष गरी जसको छाला सुख्खा छ, उसले नरिवलको तेल लगाउनु केही हद सम्म राम्रो पनि हुन्छ । धेरै छाला रोग विशेषगज्ञहरुले यसको सल्लाह पनि दिने गर्छन्। तर, नरिवलको तेल मुखमा लगाउनु उत्तम मानिँदैन, विशेष गरी जसलाई डन्डिफोरको समस्या छ र जसको अनुहारको छालामा चिल्लोपन आउँछ, त्यस्ता व्यक्तिले नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन। नरिवलको तेल अनुहारका लागि बाक्लो हुन्छ र यसले चिल्लोपन निष्कासित गर्ने ग्रंथीहरुलाई रोकिदिन्छ।

परफ्युम र हेयर स्प्रे –  परफ्युम र हेयर स्प्रेमा पाइने केमिकलहरूले गर्दा मुखको छालालाई असर गर्ने गर्छ।  यसमा भएको झोल पर्दाथले छालाको तेल निष्कासित गर्ने ग्रथीहरुलाई ब्लक गर्दिन्छ र डन्डिफोरको समस्या भएका बिरामीहरूलाई नराम्रो असर गर्दछ।

पेट्रोलियम जेली –  नरिवलको तेल जस्तै पेट्रोलियम जेली अनुहारमा लगाउनु त्यति उचित वा उपयुक्त हुँदैन। यसले नरिवलको तेल जस्तै अनुहारमा भएका तेल निकाल्ने ग्रन्थीहरुलाई ब्लक गर्दिन्छ र चिल्लो अनुहार भएका व्यत्तिहरुको लागि यसले नराम्रो असर गर्छ।

हेयर कलर – हेयर कलरमा एलर्जी गराउने तत्त्वहरू हुन्छ जसले गर्दा हाम्रो आँखाको वरिपरि एलर्जी हुन्छ ।

टुथपेस्ट – टुथपेस्टमा पाइने रासायनिक पदार्थमा अनुहारको छालामा कालो दाग बनाउने पदार्थ हुन्छ। जुन लामो समयसम्म रहन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्