गण्डकी प्रदेशका मुख्यमन्त्री पाेखरेलले मागे विश्वासकाे मत



काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आग्रह गरेका छन् । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार गठन भएको छोटो समयमा नै बजेट ल्याउनुपर्ने बाध्यताका बिच हतारमा विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएको बताए ।

उनले छोटो समयमा पेस गरेको बजेटमा गण्डकी प्रदेशमा महिलाहरूको पाठेघर क्यान्सरको निःशुल्क शल्यक्रिया गर्ने योजना ल्याएको बताए । उनले प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरूकै स्तरोन्नति गरी २५ देखि ५० शैयाको बनाउने योजना बजेटमार्फत अगाडि बढाएको बताए ।

मुख्यमन्त्री पोखरेलले सरकारले आगामी वर्षदेखि प्रदेशमा ५ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको बताए । उनले गण्डकी विश्वविद्यालय मार्फत प्रदेशमा स्वरोजगारी सिर्जना गर्नका लागि विभिन्न विषयका सीपमूलक प्राविधिक शिक्षालयहरू सञ्चालन गर्ने समेत बताए । उनले प्रदेशमा नागरिकका लागि सामाजिक सुरक्षा कोषको स्थापना गर्ने सरकारको योजना रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले कोभिडका कारण परिवार गुमाएका परिवारका सदस्यलाई सरकारले आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रमहरू सुरु गरेको बताए । उनले प्रदेशका ११ वटै जिल्लाहरूमा स्मारक पार्क निर्माण गर्ने सरकारको योजना रहेको बताए । प्रदेशको विकास र सुशासनका लागि सरकारले विभिन्न योजना अगाडि बढाएको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्ष दललाई समेत विश्वासको मत दिन आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्