नाम र उमेर लेखिएको कागज सहित गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची !



काठमाडौँ । भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गङ्गा नदीमा एउटा प्लाइउडको बाकस बग्दै–बग्दै आइरहेको थियो।

सोमबार गङ्गामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको आवाज सुने। उनीहरूलाई अचम्म लाग्यो तर कसैले गङ्गाबाट बाकस बाहिर निकाल्ने आँट गरेनन्। बाकसभित्र बच्चा रोइरहेको सुनेपछि स्थानीय गुल्लु मल्लाह भने गङ्गामा पसे र बाकस किनारमा ल्याए ।

बाकस खोलेर हेर्दा त्यहाँभित्र रातो कपडामा बेरिएकी एउटा बच्ची थिइन् । उनको शरीरमा कुनै चोट पटक थिएन बरु बाकसमा हिन्दु देवी दुर्गाको तस्बिर पनि टाँसिएको थियो। बाकसको छेउमा ती बच्चीको नाम र जन्म मिति उल्लेख भएको कागज थियो। जसमा उनको नाम गङ्गा लेखिएको थियो भने जन्म मिति २५ मे २०२१ उल्लेख गरिएको थियो ।

मैले गंगामातालाई कन्यादान गरेको छु,’ पनि लेखिएको कागजमा ॐु र जय माँ दुर्गा पनि लेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बच्चीलाई गुल्लुले आफ्नी छोरीजस्तै पाल्छु भनेर घर ल्याए। घरमा उनकी बुहारीले दूध खुवाएपछि बच्ची शान्त भइन्।

त्यतिन्जेलसम्म प्रहरीले पनि यो कुरा थाहा पाइसकेको थियो । प्रहरीले गुल्लुको घरबाट ती बच्चीलाई ल्याएर अस्पतालमा भर्ना गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको सबै लालन पालन राज्य सरकारले गर्ने बताएका छन्। उनले बच्चीको उद्धार गर्ने गुल्लुले मानवीयताको अनुपम नमुना देखाएकाले सरकारी सुविधा दिने घोषणा गरेका छन् । ती बच्चीलाई कसले, किन त्यसरी गङ्गामा बगायो भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्