नेकपा नगरसमिति बैठक : सामाजिक विकृति र अखाद्य वस्तु बिक्री विरुद्ध संघर्ष गर्ने निर्णय



हेमन्त वली असार ४, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङको घोराही र तुलसीपुर नगरका प्रथम पूर्ण बैठक सम्पन्न भएका छन् । नेकपाको १०औं केन्द्रीय समितिको बैठकपछि यी नगरका पूर्ण बैठक गरिएका छन् ।

नेकपा तुलसीपुर नगरको बैठकलाई सम्बोधन गर्दै दाङका सेक्रेटरी प्रदिप वलीले पार्टीको कार्यनीतिक योजना जिम्मेवार ढंगले जनताको बिचमा लैजाने बताए ।

उनले यही व्यवस्थालाई स्विकार गरेर आफ्नो वार्तामा आएको भनेर हल्ला फिजाउनेहरु क्रान्ति विरोधी तत्व भएको जिकिर गरे । जनमत संग्रह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बहसमा सिंगो देश सहभागी भइरहेको बताउँदै सेक्रेटरी वलीले यसबाट प्रतिक्रियावादी तत्वहरु अत्तालिएको दावी गरे ।

उनले भने,‘व्यक्ति र पार्टी होइन व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु लोकतन्त्रको उच्चतम प्रयोग हो ।’  नेकपा तुलसीपुरका नगर इञ्चार्ज विकास वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ पार्टी कार्यालय सदस्य तथा घोराही नगर इञ्चार्ज तिलक योगी, स्कूलिङ विभाग दाङका प्रमुख रुद्र वली, अखिल नेपाल शिक्षक संगठन दाङका कोषाध्यक्ष मेघराज घिमिरे, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका अध्यक्ष सञ्जय वली पनि उपस्थित थिए । बैठकले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

यस्तै नेकपा घोराही नगरको प्रथम बैठकलाई सल्यान जिल्ला इञ्चार्ज सबिन पोख्रेलले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै पोख्रेलले वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको पक्षामा जनलहर बढ्दै गएको बताए । अहिलेको संकटको निकास वैज्ञानिक समाजवाद भएको बताए ।

सबै क्रान्तिकारी, देशभक्त, प्रगतिशिल, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादीहरु संसदीय व्यवस्थाले ल्याएको संकट समाधानको लागि एकताबद्ध हुन उनको आग्रह रहेको छ । घोराही नगर इञ्चार्ज तिलक योगीको अध्यक्षतामा भएको बैठकमा युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन जंगली, नेकपा लमही नगर इञ्चार्ज जनक विक, नेकपाका युवा नेता तिलक पुनपनि उपस्थित थिए ।

बैठकले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ भने एमसिसी परियोजना, सामाजिक विकृति, विसंगति, अखाद्य वस्तु बिक्री वितरणका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्