दलित महिला कुटपिट गर्ने विरुद्ध जाहेरी दर्ता



मानसिक सन्तुलन नै बिग्रने गरी कुटाई खाएकी दलित महिलाको पक्षमा बोलिदिने मान्छे नहुँदा घुपचुपमै रहेको घटना १ महिना पछि बल्ल सार्वजनिक भएको छ ।

गत असार १ गते मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तीकी २५ वर्षीय शोभा दर्जीलाई छिमेकी चन्द्रमाया (बिन्दा) मगर, बविता मगर, पुष्पा मगर र नियरमाया मगरले घरमा बोलाई ‘तँ दमिनी तामाङसँग विहे गरेपछि निकै ठूली भइस् कि के हो ? हाम्रो मोबाइलको सिम किन चोरिस् तँ चोर्नी, सानो जात भएर आफ्नो औकात देखाइस्, अब तँ दमिनी उम्कने पाउने छैनस्’ भन्दै कुटपिट र लछारपछार गरी मरी भन्दै खोलामा फ्याकेका थिए ।

गरिब तथा विपन्न दलित समुदायकी शोभा (डुक्का) लाई कथित सानो जात भएकै कारण त्यसअघि पनि पटक पटक जातीय गालीगलौज गर्दै आएको शोभाका बुबा हर्क बहादुर दर्जीले बताए । उक्त दिन शोभालाई मरणासन्न हुने गरी कुटपिट गरेर खोलामा फालिदिएको खबर गाउँलेबाट थाह पाएपछि शोभाको उद्धार गरेर मेडिकलसम्म पु¥याएका थिए ।

स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि कानेपोखरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङको रोहवरमा १५ हजार उपचार खर्च समेत दिई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शोभालाई ल्याइएको थियो । २ महिनाको गर्भवती समेत रहेकी शोभालाई मगर परिवारले टाउको सहित शरीरका विभिन्न भागमा कुटपिट गरेका कारण मानसिक सन्तुलन गुमाएकी छन् । प्रतिष्ठानको मानसिक कक्षमा डोरीले बाँधेर उपचार गरिरहेको अवस्था देखिएपछि घटना सार्वजनिक भएको हो । त्यस अवस्थासम्म स्थानीय, प्रहरी प्रशासन र जनप्रतिनिधिले पीडितलाई न्याय दिलाउनु भन्दा गुपचुपमै घटना मिलाई सकेका थिए ।

दलित समुदायकी विपन्न महिला शोभालाई उनीहरूले मरे पनि केही फरक नपर्ने गरी काम गरेको देखिन्छ । जेठ २ गते घटनाको सुइँको पाएपछि स्थानीय दलित अधिकारकर्मी दुर्गा नेपालीले शोभाको न्यायका लागि अपिल गरेकी थिइन् । त्यसपछि अधिकारकर्मी शान्ति गजमेरसहित हुकमसिंह नेपाली, गोपाल लकान्द्री लगायतको सक्रियतामा कुटपिटमा संलग्नलाई तत्काल प’क्राउ गरी शोभा दर्जीलाई न्याय दिन माग गर्दै जाहेरी दिइएको छ ।

ज्यान मार्ने उद्देश्यले जातीय भेदभाव तथा छुवाछूत हुने गरी गालीगलौज गर्दै मरणासन्न बनाई निर्घात कुटपिट भएकोले उचित न्यायका लागि इलाका प्रहरी कार्यालय पथरीमा पीडित पक्षले जेठ ३ गते उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पीडितका तर्फबाट जाहेरी बुझिलिएको र छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् ।

यता मानसिक सन्तुलन गुमाएकी शोभा दर्जीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । आर्थिक अभावका कारण उनको स्वास्थ्य परीक्षण समेत हुन सकेको छैन । प्रतिष्ठानका शोभालाई डोरीले बाँधेर राखिएको छ भने उनको उपचारमा संलग्न चिकित्सकहरूले सिटिस्क्यान, भिडियो एक्सरे लगायतका रिपोर्ट हेरेपछि मात्र थप उपचार हुने भन्दै त्यसका लागि बिरामीका आफन्त तयार हुनुपर्ने बताए । १५ दिन अघिदेखि अस्पतालमा बिजोग अवस्थामा रहेकी शोभा । पीडित शोभाकी आमाले भनिन्, ‘हाम्रो लागि बोलिदिने र सहयोग गर्ने मान्छे छैनन् , अस्पतालमा एक्लै छोरीलाई रुगेर बसेकी छु । न पैसा छ, न कसैको साथ ।’ उनले भनिन्, ‘उपचार पाए छोरीलाई बचाउन सकिन्छ नत्र बौलाएरै मर्नेभई, घरीघरी झगडा गरेजस्तै चिच्याउँछे, उसलाई कुटपिट गर्नेहरूसँग बाझेजस्तो गर्छे । बिजोग भयो । न्याय पाइएन । सहयोग आवश्यक छ ।’
तारा लामगादेले लेखेको यो समाचार महाप्रतिवाद राष्ट्रिय साप्ताहिकबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्