जसपा अध्यक्ष ठाकुरले गरे आफू पक्षीय नेता राखेर कार्यकारिणी समितिमा हेरफेर



काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका नेताहरू राखेर कार्यकारिणी समिति हेरफेर गरेका छन्।अध्यक्ष ठाकुरले आफू पक्षीय १६ जना कार्यकारिणी सदस्यहरू राखेर अर्का अध्यक्ष यादव पक्षका १६ जनालाई हटाएका छन्।
 उनले कार्यकारिणी समितिका वर्तमान २० सदस्यलाई हटाएर आफू निकटलाई मनोनीत गरेका छन्। पूर्व सामावादीका १४ जना र पूर्व राजपाका ६ जनालाई केन्द्रीय कार्यकारिणी समितिमा मनोनीत गरेका छन्। शुक्रवार कार्यकारिणी समितिमा हेरफेर गर्दै निर्वाचन आयोगमा ठाकुरले पत्र पठाएका छन्।

स्रोतका अनुसार ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएका छन् । त्यस्तै, आफू पक्षीय खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायतलाई कार्यकारिणीमा लगेका छन्।
गत पुस १० गते बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको र सोही अनुसार आफूले समिति हेरफेर गरेको ठाकुरको दाबी छ। ठाकुर पक्षले निर्वाचन आयोगमा पुस ५ गतेको कार्यकारिणी समितिले गरेको निर्णयको प्रतिलिपि पनि पेस गरेको छ। शुक्रवार नै उपेन्द्र यादवले दलको आधिकारिता दाबी पेस गरेका छन्।

अहिले ठाकुर पक्षबाट ९ जना केन्द्र सरकारमा मन्त्रीको हैसियतमा छन्। उपेन्द्र यादव पक्षले भने ती नौ जनालाई नै पार्टीबाट निष्कासन गरेको छ। जसपामा यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। दुवै पक्षको दावीलई निर्वाचन आयोगले नमानेपछि यादव पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

कार्यकारिणी समितिका बहुमत सदस्यहरूको हस्ताक्षर समेत यादवले निर्वाचन आयोगमा पठाइसकेका छन्। तर ठाकुरले भने यादवलाई कारबाही गरेको पत्र मात्रै पठाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्