दाङमा सहकारी मार्फत जडीबुटी खेती बिस्तार कार्यक्रम सुरु

बिरुवा निःशुल्क उपलब्ध गराइ हुर्काउने किसानलाई  प्रति बिरुवा ३ रुपैयाँ अनुदान दिइने


दाङ, असार ५ । डिभिजन वन कार्यालय दाङले जडीबुटीका बिरुवा लगाउने किसानहरूलाई बिरुवा निःशुल्क उपलब्ध गराई बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरूप प्रति बिरुवा ३ रुपैयाँ नगद अनुदान उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको छ ।

दाङ जिल्ला सुगन्ध कोकिला(मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धा लगायतका जडीबुटीको व्यावसायिक खेतीको प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले यहाँ जडीबुटीका खेती गर्न चाहने किसानहरूलाई प्रोत्साहन गर्नका लागि यस वर्ष सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको सहकार्यमा किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । सहकारी मार्फत जडीबुटी बिस्तार कार्यक्रमबाट यो वर्ष करिब ७५ हजार जडीबुटीका बिरुवा रोप्ने गरी कार्यक्रम अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जडीबुटीको पकेट क्षेत्र मानिएको दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाका ५ वटा वडाहरू र  घोराही उपमहानगरपालिकाका २ वटा गरी जम्मा ७ वटा वडामा जडीबुटी खेती बिस्तार कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम अन्तर्गत किसानहरूलाई टिमुर, तेजपात र मालागेडी जातका बिरुवाहरू निःशुल्क उपलब्ध गराइने छ ।

आफ्नो खेर गइरहेको वा कम उत्पादनशील निजी जग्गामा जडीबुटी खेती गरी किसानहरूलाई व्यावसायिक र उद्यमी बनाउने र यही अभियान मार्फत गाउँ गाउँमा समृद्धिको मार्ग प्रशस्त गर्ने कार्यक्रमको उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिमबहादुर के.सी.ले जानकारी दिनुभयो । यसका लागि किसानले कम्तीमा दुई कठ्ठा क्षेत्रफलमा बिरुवा रोपण गर्नुपर्ने व्यवस्था अघि सारिएको छ ।

यो व्यवस्था अनुसार २ कठ्ठा जमिनमा ५÷५ मीटरको दुरीका हिसाबले पुरै जग्गामा जडीबुटीका बिरुवा लगाउँदा करिब २५ वटा बोट लगाउनु पर्ने व्यवस्था गरिएको छ  । यसरी लगाइएका जडीबुटी बिरुवा हुर्काउने किसानलाई अनुगमन पछि प्रति जीवित बिरुवा ३ रुपैयाँ का दरले स्याहार सम्भार प्रोत्साहन प्रदान गरिने डिभिजन वन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

किसानलाई दिने बिरुवाको अधिकांश हिस्सा डिभिजन वन कार्यालयले  आफैले उत्पादन गरेका बहुवर्षिय (ठुलो साईज पुगेका)  टिमुर, दालचिनी र मालागेडी हुने र नपुग बिरुवा खरिद गरेर समेत दिन सकिने सुचना अधिकारी खिम बहादुर के.सी. ले जानकारी दिनु भयो ।

डिभिजन वन कार्यालय दाङको सहयोगमा जडीबुटी खेतीका विस्तार कार्यक्रमका लागि लक्षीत वडामा स्थानीय सहजकर्ता परिचालन गरी जडीबुटीको बिरुवा रोप्न चाहने किसानको लगत सङ्कलन गर्ने काम भइरहेको कार्यक्रम कार्यान्वयन गर्ने जिम्मा पाएको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक वडामा एक जनाका  रले सात जना सहजकर्ता र सहकर्तालाई परिचालन गर्ने १ जना सुपरभाईजर परिचालन गरी अहिले किसानहरुले लगाउन खोजेको जडिबुटिको बिरुवा, जडीबुटीको जात र परिमाण, जडीबुटी लगाउने जग्गाको क्षेत्रफल, बिरुवा ढुवानी र वितरणका लागि सुरक्षित स्थानमा व्यवस्थापन र बितरणको लागि आवश्यक रणनीति बनाउने काम गाउँ तहमा भइरहेको छ । बिरुवा वितरण तथा वृक्षारोपण सहजकर्ताहरूलाई जडीबुटी खेती विस्तार सम्बन्धी ज्ञान तथा सीप विकास सहजकर्ताहरूलाई अभिमुखीकरण गरी काममा लगाइएको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा दाङ जिल्ला पनि जडीबुटीको लागि प्रसिद्ध जिल्ला भएको भन्दै जडीबुटी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ । कार्यालयले गत वर्ष टिमुर वर्ष कार्यक्रम घोषणा गरी एक लाख बढी बिरुवा लगाएको थियो । गत वर्ष लगाइएका अधिकांश बिरुवा हुर्किएको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्