सैघाली खबर
काठमाण्डौ, २३ माघ । राष्ट्रिय जनता पार्टी ‘राजपा ’र संघीय समाजवादी फोरम मिलेर प्रदेश सरकार बनाउने सहमति गरेका छन्। जनकपुरमा आज बसेको बैठकले दुई पार्टी मिलेर सरकार बनाउने सहमति गरेका हुन्।
‘दुई पार्टी मिलेर सरकार बनाउने भन्ने सैद्धान्तिक सहमति भएको छ’, राजपा महासचिव केशव झाले भने, ‘पद बाँडफाँटका विषयमा अर्कोदिन टुंगो लगाउनेगरी आजको बैठक सकिएको छ।’
दुई पार्टी मिलेर प्रदेश–२ मा सरकार बनाउने सहमति गरेपनि पद बाँडफाँट चाहिँ हुन सकेन। उपेन्द्र यादवको कार्यव्यस्तताका कारण आजको बैठकले पद बाँडफाँटका विषयमा टुंगो लगाउन नसकेको हो। यादव बैठक लगत्तै राजधानी फर्किएका छन्।
दुई पार्टी मिल्दा प्रदेश–२ मा सरकार बनाउन सक्ने स्थिति भएपनि यस सम्बन्धी औपचारिक सहमति भने राजपा–फोरमबीच भएको थिएन। यो प्रदेशको प्रदेश सभामा फोरमको सिट संख्या बढि भएकाले मुख्यमन्त्री आफूले पाउनुपर्ने दावी फोरमले गर्दै आएको छ। र, त्यसप्रति राजपापनि सकरात्मक नै देखिन्छ।
बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, महेन्द्र यादव र राजकिशोर यादव सहभागी थिए। यस्तै, संघीय समाजवादी फोरमक अध्यक्ष उपेन्द्र यादवसहित उपाध्यक्षद्वय लालबाबु राउत र रेणु यादवसहितका नेताको उपस्थिति थियो।
प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको मितिले एक महिनाभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधानका कारण दुवै दल पद बाँडफाँट गर्नुपर्ने दबाबमा छन्।
फोरमले गत आइतबार नै उपाध्यक्ष लालबाबु राउतलाई प्रदेश–२ को संसदीय दलको नेतामा चयन गरिसकेको छ। मुख्यमन्त्री सम्भवत उनै हुनेछन्।
१ सय ७ प्रदेश सभा सदस्य रहेको प्रदेश–२ मा सरकार गठनका लागि ५४ जना सांसदको आवश्यकता पर्छ। राजपा र फोरमसँग ५४ जना नै सांसद छन्। गठबन्धन कायम राखेर सरकार निर्माण गरेको खण्डमा दुईमध्ये एक पार्टीले सभामुख लिने निश्चित छ।
त्यसैले, राजपा–फोरमले मात्र सरकार बनाउनका लागि थप एकजना सांसदको आवश्यकता पर्छ। किनभने, उनीहरुकै सभामुख भएपछि उनले सरकार गठनका सन्दर्भमा मतदान गर्न पाउन्नन्। दुई पार्टीले एकजना स्वतन्त्र सांसदलाई समावेश गरेर सरकार निर्माणको मानसिकता बनाएको राजपाका एक नेताले जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।