कोरोना जस्तो महामारीले हाम्रो देशको स्वास्थ्य र रोग प्रतिरोधक क्षमता के कति रहेको छ भन्ने कुरा अबगत गराइदिएको छ । पहिलो लहरको कोरोनाका बेला के कस्तो तयारी गरिएको रहेछ र दोश्रो लहर ब्यापक रुपमा फैलिदा अक्सिजन, भेण्टिलेटर, अस्पतालका बेडहरुको अबस्था अस्पतालहरुमा के कस्तो स्थिति रहेको थियो र कसरी संक्रमणमा परेका मानिसहरु स्थिति दयनीय बन्न पुग्यो र ज्यान समेत गुमाउनु परेको थियो भन्ने कुरा पनि जग जाहेर नै छ ।
अहिले फेरि आउदो सेप्टेम्बर–अक्टोबरतिर कोरोनाको तेश्रो लहर आउने र त्यो बाल बालिकाहरुका लागि बढी घातक हुने कुरा बिज्ञहरुले बिश्वब्यापीरुपमा नै औंल्याइरहेका छन् । यस्तो सम्बेदनशील र नाजुक स्थितिमा हामीले गर्नुपर्ने पूर्ब तयारी अहिले र आजैदेखि गर्न र बाल बालिकाहरुलाई कोरोनाको शिकार हुनबाट जोगाउन आवश्यक सबै उपायहरु गर्नु गराउनु अत्याबश्यक छ । नेपालको २ करोड ९१ लाख ६ हजार ८०८ जनसंख्या मध्ये १८ बर्ष मुनि उमेर समूहका बालबालिकाहरु ४० प्रतिशत रहेको तथ्यांकले बताउँदछ ।
यस स्थितिमा बालबालिकामाथि झम्टिने कोरोनाको तेश्रो लहरको प्रकोपलाई रोक्न, फैलिन नदिन र फैलिहालेमा आवश्यक सबै सावधानी र खोप लगायतको उपाय गर्न राज्य र यससँग सम्बन्धित निकायहरुले अहिलेदेखि नै ब्यापक तयारी गर्नु अत्यन्तै आवश्यक छ । भारतमा फैलिने यो प्रकोपले नेपालमा समेत तीब्र गतिमा असर पुग्ने गरेको बिगतका दुइटा लहरको कोरोनाको प्रकोपले प्रष्ट पारिसकेको र पारिरहेको छ ।
त्यसमा पनि धेरै बाल बच्चाहरु अल्प पोषण र कुपोषणबाट गुज्रिरहेको र रोग प्रतिरोधी क्षमता कम रहेको अबस्थाबाट गुज्रिरहेका छन् । खाशगरी बिपन्न परिबारका अधिकांश बच्चाहरु वस्तबमा यस्तै स्थितिबाट गुज्रिरहेको स्थिति रहेको बिज्ञहरुले औल्याउने गर्दै आएका छन् । अनि यो कुपोषण केवल सवास्थ्य समस्या मात्रै होइन, समय छँदै यसको निदान तथा उपचार खोजिएन भने यो आर्थिक तथा समाजिक समस्याकोरुपमा समेत खडा हुन जानेछ ।
बिश्व स्वास्थ्य संगठनले लामो गम्भीर कुपोषणको लम्बाईको अनुपातमा धेरै कम तौल भएका बच्चा हुने या पाखुराको बीचको माथिल्लो भगाको परिधि ११५ मिलिमिटरभन्दा कम रहेको हुने या पोषक तत्वको कमीले हुने सुनिने रोग आदिकोरुपमा परिभाषित गर्ने गर्दछ । गम्भीर कुपोषणको शिकार भएका बालबच्चाहरुको तौल तिनको लम्बाईको हिसाबले बहुत कम हुने गर्दछ । अनि शरीरको प्रतिरक्षा तन्त्र कमजोर हुनका कारणले कुनै पनि रोगका कारण उनीहरुको मृत्यु हुन पुग्ने स्थिति सामान्य अबस्थाका बच्चाहरुको अनुपातमा नौ दोब्बर बढी हुने गर्दछ भनिएको छ ।
दुइ बर्ष अघि २०१९ मा ‘द लेसेण्ट’ भन्ने प्रसिद्ध पत्रिकाले जारी गरेको प्रतिबेदनमा के कुरा प्रकाशमा आएको थियो भने बिश्वका बिभिन्न देशहरुमा करोडौ बाल बच्चाहरु कुपोषणको शिकार हुने गरेका छन् । स्वास्थ्य बिज्ञहरुका अनुसार बाल बच्चाहरुलाई लामो समयसम्म सन्तुलित भोजन नमिल्नाले उनीहरुको रोग प्रतिरोधक क्षमतामाथि नकारात्मक असर पर्न जान्छ ।
त्यस स्थितिमा उनीहरु कुनै पनि बेला कुनै पनि रोगबाट आक्रान्त हुन पुग्दछन् । कुपोषणका बिरुद्ध काम गर्ने गरेका सरकारी तथा संयुक्त राष्ट्र संघ जस्ता संस्थाहरुले समेत के जोड दिदै आएका छन् भने बच्चाहरुलाई आयोडिन, आइरन र भिटामिन ‘ए’ जस्ता औषधीको थोपा खुवाउनु पर्दछ । तिनको यो ध्यान बच्चाहरुका लागि चाहिने अति सुक्ष्मतत्वहरुप्रतिको हो ।
तर बच्चाहरुको समस्या यो भन्दा अझ बढी छ । आइरन चक्की खाएर कुपोषणबाट निजात पाउन सकिदैन । त्यसका आफ्नै सीमा छन् । त्यसैले बच्चाहरुको स्वास्थ्यलाई खाद्य सुरक्षासँग जोडेर हेर्नु पर्ने हुन्छ भन्ने बिज्ञहरुको राय छ । खाद्य सुरक्षा तथा खाद्य पदार्थमा बिबिधा कुपोषण हटाउनका लागि आबश्यक छ ।
यी दुबै कुरा सोझै किसिमले ब्यक्ति वा परिवारको आयसँग सम्वन्धित छन् । स्पष्ट छ, आय छैन भने पोषण पनि हुँदैन । त्यसैले बिश्वका कतिपय देशहरुले पोषण कोषको पनि ब्यवस्था गरेर यो समस्यको समाधान खोज्न ध्यान दिएको देखिन्छ । यसका लागि उपयोगी बहु–बाली उत्पादन पद्धतिको बिकास गर्नु पर्ने आवश्यकता हुन्छ । त्यस्तो उत्पादन बढाउन बहु जलवायु र बहु क्षेत्रीय उत्पादनमा जोड दिने पनि गरिएको छ ।
बिशेषज्ञहरुले कृषिलाई कुपोषण सम्बन्धि समस्याहरुको सम्बोधन गर्ने राम्रो तरीका र क्षेत्र मान्दछन् । तर प्रायःजसो पोषण आधारित योजना परियोजनाहरुले यस कुरामा ध्यान दिएको पाइदैन । हाम्रो जस्तो कृषि आधारित अधिकांश ग्रामीण जनताको परिप्रेक्षमा यस कुरामा बिशेष ध्यान दिइनु अत्याबश्यक छ । किन पनि भने अधिकांश कुपोषणको समस्या ग्रामीण क्षेत्रमै पाइने गरेको स्वास्थ्य क्षेत्रका बिज्ञहरुको अनुभव रहेको छ ।
अहिलेको कोभिड कालको समस्याले त यो कुरालाई अझ बढी गम्भीर बनाइदिएको छ । पहिलादेखिनै गरीबीको खाडलमा परेका अधिकांश मानिसहरुको राजगारीमाथि कोरोनाले ठूलो असर पुग्न गएको छ भने स्वास्थ्य खर्च पनि बढेको छ । यस असन्तुलनले एउटा अर्को दुष्चक्रको निर्माण गर्दछ र त्यसको केन्द्रमा बालबालिकाहरु नै पर्नेछन् ।
त्यसैले यतिबेला एकातिर कोरोनाको तेश्रो लहर आउने र त्यसको चपेटामा बाल बच्चाहरु बढी पर्ने कुरा आइरहेको छ । अर्कोतिर नराम्रोसँग खस्कदो आय र गरीबीका कारण पहिलादेखि नै कुपोषणको शिकार बालबच्चाहरुका लागि एउटा यस्तो खाडल बन्न जाँदैछ जसबाट बाहिर निस्कन अत्यन्तै कठिन हुने प्रतीत हुन्छ ।
आज बिश्वमा बाल बच्चा र किशोर उमेर समूका गरेर मानबताको एकतिहाई जति हिस्सा रहेको उल्लेख गरिन्छ । हुन पनि बिश्वको मानिसले आफ्नो जीवनको एक तिहाई हिस्सा बच्चाकैरुपमा बाच्ने गरेको तथ्यांक छ । बच्चाहरु ठूला भएर मानिस भएर मानिस बनेका होइनन्, उनीहरु पहिलादेखि नै मानिस हुन् ।
त्यसैले भनिन्छ हामीले बच्चाकारुपमा रहेको मानिसलार्य जिउँदो जाग्दो राख्नु पर्दछ । तर के छ भने जन्मिएका सबै बाल बच्चा ठूलो हुन पाउछन् कि पाउँदैनन् प्रश्न यही छ । उनीहरुमध्ये कयौं कुपोषणको शिकार भए भने कमजोर बनेर कयौ बिमारीबाट आक्रान्त हुने कुरा निश्चित छ । त्यसैले बाल बालिकालाई कुपोषणबाट बचाउने र रोग मुक्त राख्न उनीहरुको प्रतिरोधी क्षमता बढाउन एकदमै जरुरी छ ।
यसमा राज्य र सम्वन्धि सबैको ध्यान केन्द्रित होस् । तेश्रो लहरको कोरोनबाट बालबालिका बचाउने उपाय नै वास्तवमा यही हो । समय छँदै उपायहरु नअनाए पछि पछुताउने स्थिति पनि नरहन सक्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।