अन्योलबीच कांग्रेसमा नेतृत्व जोडघटाउ सुरु



नेपाली काँग्रेसको महाधिवेशन मिति पटक पटक प्रभावित भइरहेका बेला शीर्ष नेताहरूले नेतृत्वका लागि तयारी सुरु गरेका छन्। केन्द्रीय समितिको शुक्रवार सम्पन्न बैठकले कार्यपालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे लगतै सभापति शेरबहादुर देउवा फेरि पार्टीको नेतृत्व लिने तयारीमा जुटेका छन्।

कोरोना भाइरस सङ्क्रमणका बिच महाधिवेशन हुनेमा शीर्ष नेताहरूबाटै आशङ्का व्यक्त भइरहेका बेला सभापति देउवाले शनिवार प्रदेश १ र २ का निकट केन्द्रीय सदस्यहरूलाई बोलाएर १४औँ महाधिवेशनमा पनि आफू नेतृत्वका लागि अघि सर्ने बताएका छन्। ‘संशोधित कार्य तालिकाअनुसार महाधिवेशन हुन्छ। सभापतिमा म फेरि उम्मेदवारी दिनेछु,’ देउवालाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘सोहीअनुसारको तयारी गर्नुहोला।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि प्रत्यक्षतर्फ धेरै स्थानमा जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा काँग्रेसलाई ठुलो पार्टी बनाउने दाबी गर्दै आएका थिए। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि पार्टीले प्रत्यक्षतर्फको सिट धेरै जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा काँग्रेसलाई ठुलो पार्टी बनाउने दाबी गरेका थिए।

त्यसपछि आफ्नो धारणा राखेका उपसभापति विजयकुमार गच्छदार, सह महामन्त्री सुनिल थापासहितका नेताहरूले नेतृत्वमा देउवालाई सहयोग गर्ने बताउँदै अघि बढ्न सुझाएका थिए। केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङले देउवाको उम्मेदवारीमा विरोध जनाएनन्। तर उपसभापति विमलचन्द्र निधिले भने आफूले पनि पार्टी नेतृत्वका लागि आकाङ्क्षा राखेको भन्दै टिमलाई मिलाएर अघि बढ्न देउवालाई सुझाएका थिए।

‘हामी तपाईँकै साथमा छौँ तर उपसभापति विमलचन्द्र निधिले पनि नेतृत्वका लागि आकाङ्क्षा राख्नुभएको छ। टिमभित्र सहमति बनाएर जाँदा राम्रो हुन्छ,’ देउवालाई दिएको सुझाव उद्धृत गर्दै एक नेताले भने। जबाफमा देउवाले भने, ‘ऊ (विमलचन्द्र निधि) पनि लड्छ। म पनि लड्छु, सहयोग गर्नुहोला।’

पार्टीभित्र र आमजनतामा सकारात्मक माहौल नभएको भन्दै केही निकट वर्तीले नेतृत्वका लागि फेरि प्रतिस्पर्धा नगर्न देउवालाई सुझाउँदै आएका बेला उपसभापति निधिले एक वर्षअघि भेटेर आफू पनि नेतृत्वका लागि आकाङ्क्षी रहेको बताएका थिए। आफू पार्टी नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताउँदै निधिले देउवाको समर्थनमा आफू सभापतिको उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।

देउवाले १४औँ महाधिवेशनमा आफैँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाउँदै निधिलाई १५औलका लागि तयारी गर्न सुझाएका थिए। तर निधिले १४औँ महाधिवेशनमा नै उम्मेदवार बन्ने बताएका थिए। त्यसपछि देउवा र निधिबिचको सम्बन्ध बिस्तारै चिसिएको एक नेताले जानकारी दिए।

सभापति देउवाले शनिवार दिउँसो गरेको छलफलमा प्रदेश २ बाट आनन्द ढुङ्गानासहित चार नेता मात्र सहभागी भएको एक नेताले जानकारी दिए। प्रदीप गिरी, चित्र लेखा यादवसहितका केही नेता काठमाडौँ भएर पनि देउवाले बोलाएको छलफलमा सहभागी भएनन्। महेन्द्र यादव, रमेश रिजालसहितका केही नेता जिल्लामा रहेको जनाउँदै सहभागी भएनन्।

छलफलमा देउवाले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग गर्न सहभागी उपसभापति निधिसहितका नेतालाई आग्रह गरेका थिए। निधिले आफू पनि सभापतिको आकाङ्क्षी रहेको सुनाउँदै देउवालाई प्रधानमन्त्री बन्न सुझाएका थिए। त्यसका लागि आफू पनि लागेको भन्दै निधिले सहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ।

जबाफमा देउवाले तपाईँलाई पनि उम्मेदवार बन्ने अधिकार छ भन्दै आफू पनि उम्मेदवार बन्ने बताएका थिए। त्यसपछि निधिले तपाईँ (शेरबहादुर देउवा) को समर्थनमा उम्मेदवार बन्ने अधिकार आफूलाई रहेको दाबी गरेको सहभागी एक नेताले बताए। ती नेताले भने, ‘तर मिलेर अघि बढ्नेजस्तो छनक शनिवार चाहिँ देखिएन।’

१४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार को–को बन्छन् भन्ने अहिले नै यकिन नभए पनि संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति निधि नेतृत्वका लागि अघि बढेका छन्। इतर पक्षबाट नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकाङ्क्षा व्यक्त गर्दै आएका छन्। नागरिक न्युजबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्