काठमाडौं । आज २१औं विश्व शरणार्थी दिवश । विभिन्न कार्यक्रम गरी यो दिवश संसार भरी नै मनाइन्छ । विभिन्न कारणले शरणार्थी (घरबार विहीन, निकाला गरिएका) बनाइएकाहरुका सम्झनामा यो दिवश मनाइने गरिँदै आइएको हो ।
आज संसारमा लाखौं मानिस शरणार्थी बने–बनाइएका छन् तर उनीहरुको उचित बासव्यवस्थापनका लागि खासै चासो र पहल भएको देखिँदैन । मात्रै यो विषय संसारका लागि राजनीति गर्ने माध्यम भएको छ ।
नेपालमै पनि अन्य देशबाट शरणार्थी बनेर आएकाहरुको संख्या लाखौंको हाराहारीमा रहेको छ । भूटानी, तिब्बती, भारतीय, बंगलादेशी आदि । तर नेपालीहरु पनि शरणार्थीकारुपमा संसारका विभिन्न देशमा रहेका छन् । उनीहरु शरणार्थी बन्नु पर्ने कारण फरकफरक होलान् ।
जे होस् रोजगारी, विद्रोह तथा विभिन्न कारणले संसारका धेरै मानिस शरणार्थी बन्न बाध्य छन् । उनीहरुको उचित व्यवस्थापनका लागि राष्ट्रसंघ तथा अन्य विभिन्न निकायहरुले पहल गर्नुपर्ने देखिन्छ ।
यसैबीच माओवादी नेता नारायणप्रसाद शर्माले संसारभर छरिएर रहेका शरणार्थीको सम्झनामा मनाइने विश्व शरणार्थी दिवशका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उनले दिएको शुभकामना मन्तव्यमा विश्वमै र स्वदेशमा तथा समाज, परिवार र पार्टीहरुमा पनि एक्ल्याइएका र पाखा पारिएका शरणार्थीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनको शुभकामना मन्तव्यमा धेरै गहिरो अर्थ लुकेको बुझ्न सकिन्छ ।
अन्तराष्ट्रिय शरणार्थी दिवसको शुभकामना
आज २० जुन अर्थात् २१औं अन्तराष्ट्रिय शरणार्थी दिवस । यस अवसरमा संसारका सबैप्रकारका शरणार्थीहरुप्रति हार्दिक मंगलमय शुभकामना । विश्वमा यतिबेला राजनीतिक, आर्थिक, भौगोलिक, जनसांख्यिक, सामाजिक, साँस्कृतिक, धार्मिक, जातीय वा पारिवारिक आदि विभिन्न प्रकारले वक्रदृष्टी, विभेद, बेमेल, वदतमीजी, वैमनस्यादिबाट विस्थापित, विष्फोटित वा विद्रोही भई आफ्नै देशमा, आफ्नै पार्टीमा, आफ्नै संघसंस्था र संगठनमा अनि आफ्नै जन्मस्थल, कर्मस्थल, थातथलो र स्वयम् आफ्नै घरपरिवारमै रहेर पनि आन्तरिक शरणार्थी बन्नु–बनाइनु भएका वा यी समग्र क्षेत्रबाट विचलन, विघटन, विसर्जन भई विस्थापित बन्न विवस पारिएर अर्काको देश, पार्टी, संघसंस्था र संगठनमा अथवा अर्कैको जन्मस्थल, कर्मस्थल, थातथलो वा परिवार र आश्रममा आश्रय र शरण लिन बाध्य पारिएका संसारका दीनदुखी जनमनहरु सबैप्रति सर्वप्रथम सहृदयी सम्झना, सम्मान, सहानुभूती र सद्भावपूर्ण शुभकामना सादर समर्पण गर्दछु ।
सानो एकाइमा हेर्दा आफ्नै परिवारबाट र ठूलो एकाइमा हेर्दा आफ्नै देशबाट पलायनमा पारिएका र परेका वा आफ्नै देशमा विदेशीहरुको हस्तक्षेप, हुकुम, हैकम, हेलाँहोँचो र हालीमुहालीद्वारा हैरान परेसान र दीनहीन भई परम पीडा र चरम चुसाइमा परेर पूर्णरुपले पीडित प्राणी जनहरुप्रति ऐक्यबद्धता प्रकट गर्दै यी सबैको पीडाको स्थायी र समग्र समाधान शिघ्रातिशीघ्र संसारभरिनै होस् भन्ने हार्दिक शुभकामना दिन चाहन्छु ।
साथै यसप्रकारको आन्तरिक वा बाह्यरुपमा शरणार्थी हुनुपर्ने अवस्था र व्यवस्थाको अन्त्यको लागि समाजवादी (साम्यवादी) समाज सिर्जनाको संघर्षमा सदासर्वदा सक्दो समर्पित हुने पूर्ण प्रतिबद्धता र कसिलो कटिबद्धता पनि व्यक्त गर्दछु ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।