भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो सङ्ख्या ८१ दिन पछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरूले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसै गरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ८७ हजार ९१७ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६.२७ प्रतिशत सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरूले जनाएका छन् । त्यसै गरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्