हामी जति लचक भएपनि ओलीले पार्टी विघटन गर्ने नै भए : नेपाल



काठमाडौं । एमाले नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसदको पुनर्बहालीविरुद्ध अध्यक्ष केपी ओली पक्षले पुनरावेदनमा जाने निर्णय गरेबाट एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका छन् ।

नेता नेपालले सोमबार सामाजिक सञ्जालमार्फत जिम्मेवार भएर पार्टी एकता बचाउन आफूहरु लचक भएर प्रस्तुत हुँदा समेत ओलीले त्यसलाई कमजोरीका रूपमा लिएजस्तो देखिएको जनाएका छन् ।

नेता नेपालले भनेका छन्, ‘कर्णाली प्रदेशका सांसद एवम पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो ।’

उनले ओली सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको आरोप पनि लगाउदै वार्ता गर्ने आफ्ना पक्षका नेताहरूलाई सावधान हुन भनेका छन् ।

‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु’ नेपालको भनाइ छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्