काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो, केके खुल्छन् ? केके खुल्दैनन् ?



काठमाडौँ।आजदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले कोभिड सङ्क्रमण उल्लेखनीय रूपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो। थप भएको निषेधाज्ञा आजदेखि असार १४ गतेसम्म लागू हुनेछ।

के के बन्द हुने

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्थालाई भने कायम राखिएको छ। फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ। होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतबन्धलाई पनि रोक लगाइएको छ। नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन। भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ।

आठ गते बिहान १ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सवारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्र्नेबाहेकका अन्य जिल्लाबाट पास विहीन सवारीका साधन काठमाडौँ उपत्यकामा प्रवेश रोक लगाइएको छ।

के के खोल्न पाइने ?

शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन गर्न सक्ने छन्। वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ। उद्योग, कलकारखाना तथा सार्वजनिक र निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ।

औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ। खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री, विक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र), स्टेशनरी, बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ।

डिपार्टमेन्ट स्टोर (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधवार र शुक्रवार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने छ।  सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटो मोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलवार र बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ।

निर्माणजन्य सामग्रीको पसल (हाडवेयस, विजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। ठुलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ। पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ। अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकामा साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ। सवारी मर्मतका पसल साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ।

विवाह व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधन प्रयोग गर्न सकिने छ। अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मत, स्वास्थ्य सम्बन्धीका गाडी, दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गो, कुरियर, तथा डाँक सेवा, फोहर मैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ।

अत्यावश्यक सामग्री बोक्ने सवारी साधन परिचयपत्रको आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले जानकारी दिए। निजी सवारीसाधन (कार जिप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइकल, स्कुटरमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ।

तरकारी फलफूल दुग्धजन्य पदार्थ, कुखुरा, दाना, चल्ला पशुपक्षीजन्य पदार्थ, खाद्यान्न भेटेरिनरी, इन्धन, ग्यास,  सरसफाईमा  प्रयोग गर्ने सामान, प्रिन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन ब्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ।

भन्सार विन्दुबाट उल्लेख भएका मालवाहक सवारी साधानसम्बन्धीत भन्सार प्रमुखले रुट खुलाइ अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारी उल्लेख गरेको दिन र स्थानसम्म आवातजावन गर्न पाउने छन्। विदेश जाने यात्रुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने जनाइएको छ।

विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने गरी आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न भनिएको छ। बैङ्क तथा वित्तीय संस्था, धितो पत्र बोर्ड, बिमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ। उक्त आदेशको पालना नगरे कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्