कोटा र कोठा



यति नजिकका दुई वर्णहरू यी
अति प्रेमिल दुई वर्णहरू यी,
आज तिमिहरूकै कारण बिरानो छन्
तिमिहरूकै कारण विशुद्ध र बिटुलो छन्।

तिमिले बनाएको दलितले कोटा पायो
त्यो पनि तिमीहरूको बिटुलो  केही अंश,
 डकारी फालेको जुठ्यानको सितो जस्तो
नखाऊँ भोक छ,खाऊँ न`खा भन्ने लोक छ।

तिमिहरूले पाएको कोटा कहिल्यै देखाएनौ
न कि हामी पनि बिटुलिन्छौँ भन्ने डरले होला,
तिम्रा बाउ,बाजेको बनारसी पढाइको कोटा
तिम्रा बाउ बाजेको जिम्मेवार,मुखिया कोटा

तिम्रा शासकको प्रशासन कब्जाको कोटा
तिम्रा इष्टमित्र र नातागोताको प्लान कोटा,
जुन तिमिहरूलाई पवित्र जन्मसिद्ध वर लाग्छ
त्यस्तै कोटा अरूले पाउँदा मन किन दुख्छ?

किन बोल्दैनौ शासन भित्रको लुटको कोटामा
मेरो गुटलाई यति,तेरो गुटलाई यतिको हिसाबमा
कतै! तिम्रो पनि हिस्सा त छैन लुटको कोटामा?
गर्ज!भाडाको कोठामा गर्जिनेले,लुटको कोटामा।

९ जना दलितको कोटामा जल्नेहरू लाई सवाल!
९१ अरूको कोटामा किन मौन छौ बत्ताइदेऊ अब,
कोटाको कमाइले ,कोठा किन्न सकिन मैले
भन! घर कहाँ खडा गरूँ र,बसौँ राजधानीमा?

सिंहदरबार,बालुवाटार तिम्रै कोटामा परेको छ
त्यहाँ कोठा माग्न सक्ने हिम्मत दिएन कोटाले,
ढुङ्गा माटोको कोठामा त विभेद खप्नु पर्‍यो मैले
रातो कार्पेट को छेउछाउ,झनै के अट्न सक्थेँ म!!!

मेरै पुर्खाको श्रमको कोटामा मालिक छौ तिमी
त्यसको मूल्य हो अहिले मैले लिएको कोटा,
मालिक भएर श्रमजीवी को मूल्य तिर्ने कि नाइँ?
क्रूर मालिक पैले बन्यौ,अब सक्दैनौ बन्नलाई।

मैले पाएको कोटाले कहाँ खती भयो बत्ताइदेऊ
म कोटा त्याग्छु,तिमी पनि लालयित नभैदेउ अब
तिमी कोटाको विरोधी हुँदै हैनौ,भाग हडप्न खोज्दछौ
मेरो भाग खोसेर तृप्त हुन चाहन्छौ,तृप्त हुन चाहन्छौ

कोठा माग्दा,कोटा बाट नि फाल्न हिम्मत गर्नेहरू हो
अब कोटा लेखेको संविधान पनि फाल्न जुट,
तिमी एक्लैले सक्दैनौ भने कायर हरू हो!
सहयोगको कोटामा म आउँला नि,अनि फालौला।

त्यसपछि तिमी चैनको सास फेर्नु,खुसीको रङ्ग छर्नु
तर खबरदार! झुक्किएर नि कोठामा विभेद नगर्नु
पानी,मठ मन्दिर,स्कुल,भान्सामा विभेद नगर्नु
खबरदार!कहिल्यै त निँच भनी विभेद नगर्नु।

बिन्ती छ नजिकका वर्णहरू `ट र ठ´मा विभेद नगर
जुन कोटा र कोठा, शब्दहरूमा मिलेर रहेका छन्,
जुन तिम्रो `खाट´ र `घाट´मा पनि छन्,ती वर्ण नै
खरानी बन्नेछन्,तिम्रो खाट र घाट पनि उस्तै उस्तै!!

सन्दीप विश्वकर्मा
गोर्खा,सिरान चोक-४
सुझाबको लागि
email- [email protected]

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्