टप फिचर

जैसीको नेतृत्वमा श्रमजीवी-पत्रकार सङ्घको गठन श्रमजीवीका पक्षमा लड्ने एक मात्र उद्देश्य 

By Thah Online

June 22, 2021

असार ८, काठमाडौँ । “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,” भन्ने नारा दिएर श्रमजीवी-पत्रकार सङ्घ, नेपाल गठन भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएको सङ्घको नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन् ।

२१ सदस्यीय केन्द्रीय कार्यसमितिमा विभिन्न विचार/आस्था राख्ने व्यावसायिक पत्रकारहरू सम्मिलित छन् । प्रेस काउन्सिल नेपालका निवर्तमान का. बा. अध्यक्ष गोपाल बुढाथोकीसहित स्थापित पत्रकारहरू बलराम थापा, दीपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्र कुमार कर्ण सल्लाहकार छन् । कार्यसमितिमा पत्रकारहरू अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गोविन्द देवकोटा काेषाध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरूमा पत्रकारहरू केशव भुल केशरमणि कट्टवाल ईश्वर अर्याल सरस्वती कर्माचार्य यदुप्रसाद पोखरेल दीपेश शाही ऋतु विचार धुव्र रिजाल दिया चन्द विष्णुबहादुर बस्नेत श्रीराम वाग्ले कौशिला कुँवर भुवन पौडेल उमेश रिमाल विक्रम पण्डित रहेका छन् ।

सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित नरहेको ठहरसहित सङ्घले पत्रकारिता पेसालाई सुरक्षित, मर्यादित र पेसालाई पारदर्शी बनाउन दबाब दिने र पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था भएको विज्ञप्तिमार्फत स्पष्ट गरेको छ। पत्रकारिता क्षेत्रमा काम गर्ने साना लगानीका स्वरोजगार मुखी सञ्चारकर्मीदेखि ठुला कर्पोरेट मिडियामा श्रम गर्नेहरूको हितमा काम गर्ने उद्देश्य खुलाउँदै सो विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता क्षेत्रमा सम्बद्ध जुनसुकै राजनीतिक दलमा आस्था राख्ने व्यक्ति यो सङ्गठनमा अटाउन सक्छ । यसको कर्म भनेकै श्रमजीवीले कानुनी हक प्राप्त गर्ने हो ।” श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाब दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षाका लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको उल्लेख छ ।

पत्रकारिता क्षेत्रमा लागेका श्रमजीवीको हकहितको प्रवर्द्धनका लागि यसअघि यस्ता संस्थाको विद्यमानता रहे पनि त्यस्ता संस्थाबाट पीडित सबै श्रमजीवीलाई न्याय दिलाउन पहलकदमी नलिएकाले यस संस्थाको आवश्यकता खट्केको निष्कर्षसहित यो सङ्घले कुनै पनि पीडित श्रमजीवीलाई न्यायका लागि लड्दालड्दै थाकेर मुद्दा छोड्नुपर्ने अवस्था आउन नदिने सङ्कल्प लिएको बत्ताइएको छ । अध्यक्ष जैसीका अनुसार समयमै न्याय दिलाउन, सबै श्रमजीवीले समयमै न्याय पाउने अवस्थाका लागि निरन्तर लागिरहने बाचा गर्दै राज्यबाट सबै सुविधा लिने तर श्रमजीवीलाई पारिश्रमिक नदिने कथित ठुला कर्पोरेट मिडियालाई तत्काल कानुनको दायरामा ल्याउन दबाब दिने काम पनि यस संस्थाले गर्नेछ ।