ओलीको तानाशाही अब देशले धान्न सक्दैन : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने जिकिर गरेका छन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताए ।

देशको समसामयिक राजनीतिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनै पनि राजनीतिक दु’र्घटना हुन नदिई देशलाई जोगाउन आफूहरू क्रियाशील रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण सङ्घर्ष, मधेस आन्दोलन र बृहत् जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरी पनि रोकेर संविधान ट्र्याकमा ल्याई देशलाई अगाडि बढाउने बताए ।

आफूले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए । प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे । सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गीय हरिप्रसाद पण्डितले कम्युनिस्ट आन्दोलनलाई ठुलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । पौडेलको ९० वर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

सोमबार सा‘झ चितवन आएका अध्यक्ष प्रचण्डले मङ्गलवार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल वर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं. २६ को सिसई लगायतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरूसँग जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल गरी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्