काठमाडौं । गएका १३ दिनभित्र प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्च अदालतले ५ झट्का दिएको छ । जेठ २७ गतेपछि मात्रै प्रधानमन्त्री ओलीले संविधान र कानुनलाई वेवास्ता गर्दै आफू अनुकूल हुनेगरी गरेका विभिन्न ५ महत्वपूर्ण निर्णयहरुलाई सर्वोच्चले बदर गरेको छ ।
यसले प्रधानमन्त्री ओली संविधान र कानुनविपरीत हिँडेको थप पुष्टि भएको कानुनविदहरुको भनाइ छ । ‘संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र आफूले गरेको जस्तोसुकै कामलाई मान्यता दिनुपर्ने मैमत्त सोचले ग्रसित बनेका प्रधानमन्त्री ओलीका लगातारको निर्णय बदर भएसँगै उनीमाथि लाग्दै आएको प्रतिगामी, स्वेच्छाचारी र असंवैधानिक जस्ता उपमाहरू यथार्थमा आधारित भएको घटनाक्रमले पुष्टि गर्दै गएका छन्’ कानुनविदहरु भन्छन् ।
ओलीलाई झट्का दिने यस्ता छन् सर्वोच्चका ५ आदेश
१) २०७८ असार ८ गते २० जना मन्त्री पदमुक्त ।
२) २०७८ असार ४ गते ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बहानामा चुरे दोहन गर्ने निर्णय कार्यान्वयनमा रोक ।
३) २०७८ असार ४ गते राजदूत नियुक्ति निर्देशिका संशोधन अस्वीकार ।
४) २०७८ जेठ २७ गते नागरिकता अध्यादेश खारेज ।
५) २०७८ जेठ २७ गते नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीले चार प्रदेश सदस्यलाई गरेको कारवाही अमान्य ।
संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार प्रधानमन्त्री ओलीसँग जोडिएका निर्णयहरु एकपछि अर्को बदर भएका घटनाक्रमले तीनवटा सन्देश दिएको छ ।
पहिलो, प्रधानमन्त्री ओलीले गरेका प्रत्येक कामहरु संविधानको लिकभन्दा बाहिर थिए र छन् । संविधान अनुकूल नभएका र संविधानको लिक बाहिर भएकैले अदालतले बदर गरिदिएको हो ।
दोस्रो, राजनीतिमा अदालतको महत्वाकांक्षा बढ्ने खतरा ।
तेस्रो, अवैध कुरालाई बदर गर्नु सकारात्मक हो तर प्रधानमन्त्रीको काम गर्ने तौरतरिका र रणनीति हेर्दा उनले जानीबुझी अवैधानिक काम गरेर अवैधानिक कामबाट पनि र उल्टिसकेपछि पनि फाइदा लिने खतरा ।
कतिपयले भने २० मन्त्री पदमुक्त हुने सर्वोच्चको पछिल्लो आदेश कानुन बमोजिम ठीक भएपनि यसले अन्तत्वगत्वा प्रधानमन्त्री ओलीलाई नै बढी फाइदा हुने बताउन थालेका छन् ।
यो भनाइलाई पुष्टि गर्नेगरी ओली निकटका एक नेता भन्छन्, ‘धेरैले कुरै नबुझी ओलीलाई झट्का भनेका छन् तर मंगलबारको आदेश प्रधानमन्त्री ओलीकै चाहाना अनुसार भएको हो । किनभने अब एकलौटी रुपमा थप निर्णय गर्न पाउने सर्वोच्चले नै ढोका खोलिदियो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।